अध्ययन भन्छ : बिसिजी खोप अनिबार्य गरिएका मुलुकमा कोरोना संक्रमण र मृत्युदरमा कमि !

  • क्षयरोगको खोप अनिवार्य गरिएका मुलुकमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या पनि तुलनात्मक रुपमा कम रहेको एक अध्ययनले देखाएको छ । प्रकाशित नभएका मेडिकल रिसर्चको साइट मेडआरएक्सआईभीका अनुसार क्षयरोगका लागि बीसीजी खोप दिइने मुलुकमा कोभिड-१९ का संक्रमित र मृतकको संख्या पनि कम देखिएको हो ।
    द साउथ चाइना मर्निङ पोष्टका अनुसार, अहिले यो परीक्षण केवल छ मुलुकमा मात्र गरिएको छ । तर, छ मुलुकमा गरिएको यो अनुसन्धानले पनि महत्वपूर्ण नतिजा भने दिएको छ । यी मुलुकमा बीसीजी खोप दिएका स्वास्थ्यकर्मी र वृद्ध मानिसमा पनि कोभिड-१९ विरुद्धको प्रतिरक्षा प्रणाली एकै किसिमको पाइएको थियो ।
    न्युयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीका सहायक प्राध्यापक गोन्जालो ओटाजुले जापानमा मृतकको संख्या कम देखिएसँगै यस विषयमा आफ्नो शोध सुरु गरेका थिए । चीनपछि सबैभन्दा पहिला जापानमा यो भाइरसको संक्रमण देखिएको थियो ।
    साथै जापानले अन्य मुलुकले जस्तो लकडाउनलगायतका निर्णय पनि गरेको छैन । जापानमा वृद्ध मानिसहरुको संख्या पनि उल्लेख्य छ । कोभिड-१९ को असर धेरै वृद्ध मानिसमा हुने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।
    ओटाजु आफूलाई यसअघि नै बीसीजी खोपले केवल क्षयरोगको ब्याक्टेरिया मात्र नभई अन्य संक्रामक रोगका जीवाणुलाई पनि रोक्ने क्षमता बढाउने आफूलाई थाहा भएको बताउँछन् ।
    यससँगै उनको टोलीले अनिवार्य क्षयरोगको खोप भएका र केही स्थानमा मात्र यो खोप लगाइने मुलुकको तथ्यांक संकलन गरेको थियो । यसरी संकलन गरिएको तथ्यांक उनीहरुले गरेको शोधमा निकै मेल खायो ।
    अमेरिका र इटालीजस्ता उच्च आम्दानी भएका मुलुकहरुमा अहिले धेरै कोभिड-१९ का बिरामी देखिएका छन् । यी मुलुकमा बीसीजीको खोप जोखिममा रहेका मानिसलाई मात्र अनिवार्य गरिएको छ ।
    जब कि, जर्मनी, स्पेन, फ्रान्स, इरान र बेलायतमा बीसीजी खोप अनिवार्य गर्ने नीति थियो । तर, यो चार दशकभन्दा पहिला नै रोकिएको थियो । यो भाइरसको सुरुवात भएको चीनमा पनि बीसीजी खोपको व्यवस्था छ । तर, यो व्यवस्था सन् १९७६ भन्दा अघि राम्रो थिएन ।
    दक्षिण कोरिया र जापानजस्ता बीसीजी खोप अनिवार्य भएका मुलुक अहिले कोभिड-१९ नियन्त्रणमा सफल देखिएका छन् । कम आम्दानी भएका मुलुकको तथ्यांक भने यस किसिमको अनुसन्धानको लागि त्यति विश्वसनीय मानिँदैन ।
    अहिले यो भाइरसका कारण संक्रमितको संख्या १० लाख नाघिसकेको छ भने अहिलेसम्म यसबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघिसकेको छ ।
    यस्तोमा विश्वभरका मुलुकहरु यो भाइरसबाट पार पाउन संघर्ष गरिरहेका छन् । कुनै पनि रोगको खोप एक वर्षभन्दा अगाडि उपलब्ध हुन निकै कठिन हुन्छ । यसको लागि आवश्यक प्रक्रिया र मापदण्डको कारण यो समय निकै कम हुन जान्छ ।
    यो कारणले पनि बीसीजी खोपले कोभिड-१९ रोक्न सक्छ कि भनेर हेर्नु तर्क संगत हुने युनिभर्सिटी अफ टोरोन्टोका इलोनोर फिस बताउँछन्। ओटोजुको अनुसन्धानलाई पुनरावलोकनको काम भइरहेको छ । फिसले आफूले यो नतिजा निकै ध्यान दिएर हेरेको बताए ।
    ओटाजुले यसअघि नै विशेषज्ञबाट यो अध्ययनबाट विभिन्न प्रतिक्रिया पाएका छन् । उनीहरुको आशंका समाधानको लागि उनी अहिले उक्त अध्ययनको दोस्रो भागमा अनुसन्धान गरिरहेका छन् ।
    कोभिड–१९ मा बीसीजी खोपको प्रभावकारिताको विषयमा सबैभन्दा पहिला मिहाइ नेटीको टोलीले गरेको थियो । उनी राडबाउड यूनिभर्सिटी मेडिकल सेन्टरका संक्रामक रोग विशेषज्ञ हुन् ।
    उनको टोलीले चार सय स्वास्थ्य कर्मचारीलाई अनुसन्धानमा समावेश गरेको थियो । जसमा दुई सयलाई बीसीजी खोप दिइएको थियो । उनलाई दुई महिनासम्म कुनै नतिजा नआउने अपेक्षा थियो ।
    उनी ६० वर्षभन्दा माथिका मानिसमा बीसीजी खोपको प्रभावको विषयमा पनि अनुसन्धान गर्ने तयारीमा छन् । अन्य केही परीक्षण अष्ट्रेलिया, डेनमार्क, जर्मनी, बेलायत र अमेरिकामा गरिएको थियो ।
    अहिले वैज्ञानिकहरु कोरोना भाइरसविरुद्ध क्षयरोगको खोप मात्र किन प्रभावकारी देखियो भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।
    नेटीले बीसीजी खोपले एकै किसिमले आक्रमण गर्ने अन्य रोगबाट पनि बचाउन सक्छ भन्नेबारे लामो समयसम्म अनुसन्धान गरेका छन् । यस्ता रोगबाट बच्न यो खोप लिएका मानिससँग अन्य मानिसको तुलनामा धेरै प्रतिरोधात्मक क्षमता हुन्छ ।
    बीसीजी खोप कोभिड–१९ को लागि केही प्रभावकारी देखिएपछि यो खोप लिइहाल्नुपर्छ भन्नेचाहिँ होइन । ओटाजु यो खोप ट्वाइलेट पेपरजस्तो बिक्री गर्नुपर्ने खोप नरहेको बताउँछन् ।
    वैज्ञानिकहरुले मेडिकल परीक्षण विना यो खोप कत्तिको प्रभावकारी हुन्छ भनेर भन्न सक्दैनन् । उनीहरुको नतिजाले यो खोप कति प्रभावकारी छ भन्ने कुरा देखाउँनेछ । कुनै पनि संक्रमितको उपचारका लागि यो खोपमात्र उपचार हुनसक्दैन ।
    ओटाजु भन्छन्, ‘बीसीजी खोपको कारण मात्र कोभिड-१९ लाई नियन्त्रण गर्नसक्ने कुनै मुलुक छैनन् ।’ कोरोना भाइरस नियन्त्रणको लागि सामाजिक दुरी बढाउने, परीक्षण बढाउने र संक्रमितहरुलाई आइसोलेसनमा राख्नु जरुरी हुन्छ ।अनलाइन खबर