कोभिड-१९ मा कन्ट्याक्ट ट्रेसिङमा स्वास्थ्यकर्मीको अनुभव : परिवेश र परिस्थिति फरक कुरा हुन /

  • चैत १५ गते बागलुङको एक युवतिमा कोरोनाको सङ्क्रमण पोजिटिभ देखियो। सो भोलिपल्ट नै स्वास्थ्य कार्यालय बागलुङको तर्फबाट स्वास्थ्य कार्यालय प्रमुख र म बिरामिसङ्ग सम्पर्कमा आएका व्यक्तिहरुको तथ्यांक लिन तथा स्वास्थ्यस्थिती बुझ्न (contact tracing) पुग्यौ। सम्पर्कमा आएका व्यक्तिहरु मध्ये केहिसङ्ग प्रत्यक्ष भेटघाट भयो भने केहिसङ्ग फोन सम्पर्क मात्र हुनसक्यो। हामी निरन्तर सबैसँग सम्पर्कमा छौ। हालसम्म वहाँहरुमध्ये कसैमा लक्षण देखिएको छैन।
    कन्ट्याक्ट ट्रेसिङ्गको सिलसिलामा हामि पुगेको पहिलो परिवार एक महिला र वहाँको दुई बच्चा सहितको सानो परिवार रहेछ। वार्तालाप सामान्य  रुपमै शुरु भयो। तर वर्तालाप शुरु भएको केही समय पछि घरमुली महिलाको आखाभरी आँसु आयो। वहाँले  रुदै आफू या आफ्नो बच्चालाई केही भइहाल्ने पो हो कि? भनी डर व्यक्त गर्नुभयो। हामिले उचित समय दिएर सक्दो परामर्श गर्यौ। हामी गएर आफुले सन्त्वना पाएको भनी हामिलाइ धन्यवाद दिदै बिदा गर्नुभयो। दोश्रो परिवार सङ्क्रमित युवतिको एकदमै मिल्ने साथिको रहेछ। आफ्नो साथिलाई  संक्रमण देखिएपछी चिन्ताले उनको पनि टाउको दुख्दो रहेछ। हामी पुगेको अन्य परिवारमा पनि अवस्था खासै फरक थिएन। कोरोनाले ग्रसित नभएपनी कोरोनाको डरले ग्रसित थिए सबै। हामी जहाँ पुग्यौ, सामाजिक संजालमा जस्तो गाली नभइ धन्यवाद पायौं। अचम्म त तब लाग्यो जब मैले संक्रमीत युवतीको घर अगाडि नै रहेको विद्यालयको नाम पढे, “कोरोना एकेडेमी”।

    कोरोनाकै कारण बिदेशको कार्यक्रम छोडेर फर्किनुभएका एक सज्जनले आफु संक्रमीत भइयो कि? भन्ने आशंकामा हामिलाइ सम्पर्क गर्नुभयो। हामी परिक्षणको लागि नमुना लिन वहाँको घरमा पुग्यौ। ती सज्जन घरमा एक्लै हुनुहुदोरहेछ। परिवारका अन्य सदस्यहरु सोही घरअगाडिको अर्को घरमा बस्नुहुदोरहेछ। परिवारको कोहिपनि सदस्य वहाँको नजिक नआउने गरेको जानकारी पाए। रोगको हिसाबले यो निर्णय एकदमै सहि हो। तर यसले ति सज्जनमा पर्ने मनसिक असर त वहाँको मनोबलमा भर पर्छ। ती सज्जनको परिक्षणको नतिजामा संक्रमण नरहेको देखिएको छ।

    एउटा अर्को प्रसङ्ग पनि छ। नमुना संकलनकै क्रममा एउटा ठाउँमा हामिले पहिले सो ठाउँको स्वास्थ्यचौकी प्रमुख र वडाअध्यक्षज्यु सङ्ग भेट्यौं र वहाँहरुको सहयोगमा नमुना संकलन गर्ने स्थानमा जाने निधो भयो। वहाँहरुलाई हामिले हाम्रो गाडिमा बस्न अनुरोध गर्यौ। स्वास्थ्यकर्मी साथी हामिसङ्गै गाडिमा बस्नुभयो भने वडाअध्यक्षज्यु हामिसङ्ग बस्न डराउनु भयो। वहाँ हाम्रो भ्यानको पछाडीको सामान बोक्ने ठाउँ (ट्रली) मा उभिनुभयो।
    र यो अन्तिम प्रसङ्ग:
    छैटौं संक्रमीत पुष्टि भइसकेपछी वहाँलाई अस्पतालमा स्थानान्तरण गर्न प्रशासन, सुरक्षा निकाय, अस्पताल र स्वास्थ्य कार्यालयको प्रतिनिधिहरुको बैठक बस्यो। कोरोना संक्रमीत बिरामिलाई बोक्ने भनेर तयार गरिएको एम्बुलेन्स बोलाइयो। तर आएको दुई-तीन मिनेटमै एम्बुलेन्सको साँचो त्यहीँ छोडेर चालक गायब भए। विभिन्न सन्चारमाध्यमले प्रशासन, सुरक्षा निकाय र अस्पताल पन्छिन खोजेको भन्दै समाचार पनि छापेका छन। ती निकायहरु पन्छिन न/खोजेको तिनैले जानुन् ।पिपिइ हुदाँहुदै पनि चालक उपलब्ध नभएपछी आफुसङ्ग सवारिचालक अनुमतिपत्र र सीप दुबै भएकोले आफै जान्छु भनी म पनि तम्सिए। अन्त्यमा पिपिइ प्रयोग गरि  स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख र चालक गएर बिरामी लिएर आउनुभयो। सोही घटनालाइ मध्यनजर गर्दै स्वास्थ्य कार्यालय बाग्लुङले जिल्लाका केहि एम्बुलेन्स चालकहरुलाई अभिमुखिकरण सहित पिपिइ उपलब्ध गराएको छ। आशा गरौं आगामी दिनमा यो घटना दोहोरिदैन।
    यी घटना मैले बिना अर्थ प्रस्तुत गरेको होइन। यी घटनाहरु समाजमा कोरोनासम्बन्धी रहेको भ्रम र कोरोनाको कारणले फैलिएको त्रासको उपज हो। आज शुरुकै चरणमा देखिएका यी घटनाहरुले दुर्भाग्यवश महामारी फैलिएपछी कस्तो रुप देखाउने हो कल्पना गर्न सकिँदैन। आखाभरी आँसु बोकेको ती महिलाले महामारीको समयमा आफुलाइ कसरी सम्हाल्छिन? नमुना लिने स्वास्थ्यकर्मीसङ्ग डराएको वडाअध्यक्षज्युले महामारीको समयमा कसरी कार्यसम्पादन गर्नुहोला? आज बिरामी बोक्न डराएको एम्बुलेन्स चालक महामारीको अवस्थामा लुकेर बसे के होला? एकपटक सोचौं त।
    अब कुरा गरौं कारणको,
    जहाँपनि तथ्यभन्दा अफवाह छिटो फैलिन्छ। समाजिक संजालले सबैलाई जोडेको छ। बिद्युतिय समाचारपत्रको दौडमा जित्नका लागि सबैले भड्किलो शीर्षक राखेर समाचार लेख्छन। र यहाँका प्रयोगकर्ताले शिर्षककै भरमा समाचारको अनुमान लगाउछ्न। पूरा पढ्ने अधिकान्शले न श्रोतको खोजी गर्छन न आधिकारिकता को। ग्रामीण क्षेत्रमा स्वास्थ्यको जिम्मेवारी आफ्नै काधमा बोकेको कैयौं स्वास्थ्यकर्मीले समेत यस्तै भ्रामक जानकारीहरु शेयर गरेको देख्न सकिन्छ। कैयौं स्वास्थ्यकर्मीले नै हालको अवस्थाको गम्भीरता बुझ्न सकेका छैनन। केहिदिन पश्चात् आउन सक्ने भयावह परिस्थितिको चित्रण गर्न सकेका छैनन। हाल अभावकै स्थितिमा  रहेको पिपिइ लगाएर समाजिक संजालमा छ्याप्छ्यप्ती राखिएका तस्बिरहरु यसैका उदाहरण हुन। यो समस्यालाई न्यूनीकरण वा समाधान गर्न जनता, सरकार र मिडिया, तिनैपक्ष उत्तरदायी हुनु अत्यन्त जरुरी छ।

    हाल स्थानीय तहमा पर्यप्त स्वास्थ्य जनशक्ति उपलब्ध रहेको हुँदा जनमानसमा रहेको भ्रम र त्रास न्यूनीकरण गर्न धेरै गाह्रो छैन। स्वास्थ्य शाखाले योजना बनाइ सानो समुहमा सर्वप्रथम स्वास्थ्यकर्मीसङ्ग र तत्पश्चात जनप्रतिनिधिसङ्ग सचेतनामुलक अन्तरक्रिया गर्नु अझै पनि आवश्यक देखिन्छ। तर यसो गर्दैगर्दा उच्च सावधानी अपनाउनुपर्ने हुन्छ र प्रवाहहुने सुचनाहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बिश्व स्वास्थ्य संगठनद्वारा प्रेषित भएको हुनुपर्छ। साथै उपलब्ध जनशक्तिलाई परिचालन गरि नियमित रुपले प्रवाह हुने स्वास्थ्य सेवालाई असर नपर्ने गरि सावधानीका साथ उचित समय र आवश्यक जानकारी दिदै घरदैलो कर्यक्रम गर्दा समाजमा रहेको भ्रम र त्रासलाई सजिलै न्यूनीकरण गर्न सकिन्छ। यसो गर्दा समाजको त्रास घट्नेछ भने धन्यवाद को पात्र भइ स्वास्थ्यकर्मीको मनोबल पनि बढ्नेछ। अन्यथा कोरोनाले गर्ने क्षतिलाई कोरोनाको त्रासले गुणात्मक बढावा दिनेछ।

    मास्क पिपिइ
    अफवाहहरुमध्ये ओझेलमा परेको एउटा अफवाह हो मास्कको प्रयोग। काठमाडौ बसोबास गरिरहेको र बिरामिको उपचारमा सम्लग्न नरहेको एक स्वास्थ्यकर्मी साथी आवश्यक कामले बहिर निस्किदा मास्क नलगाएको भनेर आफु एन ९५ मास्क लगाएको  एकजनाले थर्कमान बनाउनुभएछ। साथिले सम्झाउन खोज्दा “मास्क लगाएर सभ्यताको परिचय दिनुस” भनी जवाफ फर्काउनुभएछ। म आफैलाइ पनि एक प्रहरीसाथिले मास्क नलगाएको देखेर अपशब्द प्रयोग गर्नुभएको धेरैदिन भएको छैन। नमुना संकलन र कन्ट्याक्ट ट्रेसिङ्गको क्रममा पनि मैले मास्क नलगाएको अनुहार भेट्टाउन मुश्किल पर्यो। कैयौं व्यक्तिले त कपडाको फोहोर मास्क पनि लगाएका थिए।
    विश्व स्वास्थ्य संगठन वा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कुनै पनि सचेतनामुलक संदेशमा आम जनतालाई  मस्कको प्रयोग गर्न सुझाएको देखिदैन। विश्व स्वास्थ्य संगठनले मस्कको प्रयोग गर्ने तरिकासम्बन्धी भिडियोमा स्वस्थ्य व्यक्तिलाई मास्कले संक्रमणबाट जोगाउने प्रमाण नभएको भनी स्पष्ट रुपमा भनिएको छ। व्यवहारिक रुपमा हेर्ने हो भने पनि मास्क प्रयोग गर्दा हामी कैयौंपटक मास्क लगाउने फुकाल्ने गरिरहन्छौ। यसोगर्दा हामिले नाकमुख र अनुहार छुने सम्भावना  सामान्य अवस्थाभन्दा धेरै हुन्छ। यसरी संक्रमणबाट जोगिने भन्दा पनि संक्रमण हुने सम्भावना धेरै हुन्छ भने बजारमा मास्कको अभाव भई आवश्यकता भएका ब्यक्तिले प्रयोग गर्न पाउदैनन। सोही रुपमा अहिले नै  सामान्य बिरामिलाई जाच्न पनि पिपिइको प्रयोग गर्ने हो भने आवश्यक परेको बखत पिपिइको अभाव हुनेछ जसले ठुलो सङ्कट निम्त्याउनेछ।
    खोप लकडाउन

    लगभग सोह्र हजार खोप केन्द्रहरुबाट  देशभरिमा करिब साढे पाँच लाख बालबालिका र बागलुङ जिल्लामा मात्रै करिब पाँच सय पचास  बालबालिकाले खोप सेवा हरेक महिना लिने गर्दछ्न। द्वन्दकाल तथा अन्य जुनसुकै परिस्थितिमा पनि निरन्तर संचालित यी खोपकेन्द्रहरु यसपटक लकडाउनका कारण संचालन हुनसकेका छैनन् । लकडाउन लम्बिदै जाने र खोप सेवा प्रभावित भइरहने हो भने यसले नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुर्याउने निश्चितप्राय: छ। तसर्थ लकडाउन को अवस्थासम्म खोप कार्यक्रममा फरक रणनीति अपनाउन अनिवार्य देखिन्छ।

     

    लेखक :  विरेन्द्र कुमार चौधरी हाल कोल्ड चेन असिस्टेन्ट, स्वास्थ्य कार्यालय बागलुङमा कार्यरत हुनुहुन्छ /

    (कोरोनासम्बम्धी सुचनाका लागि ९८५७६७६२२२ मा सम्पर्क गर्नुहोला।)