कोरोनाले सिकाउँन खोजेको जनस्वास्थ्य पाठ ! नेपालले लडाई जित्नुपर्छ !

अहिले एक प्रजातिको भाईरसले पुरा विश्वलाई घुमाईरहेको छ।जसले विश्वलाई अझै धेरै बर्ष पछाडि धकेल्ने दुष्प्रयास गरेको देखिन्छ।यस्ता दुष्ट भाइरसको आवतजावत त बेला मौकामा भई नै राखेको छ र अझैपनि समय समयमा यी र यस्तै खालका भाइरसको आगमन नहोला भन्न सकिन्न।
प्रकृतिको सौन्दर्यतासँगै यसले समय समयमा दिने धोका अनि दुःख आफैमा अति नै दुःखद र पीडादायी छ।त्यो सुन्दर अनि शान्त घर परीवार, आहार, विहार अनि सम्पत्ति सबै तहस नहस हुन्छ।क्षण भरमै खुशीयाली हराउँछ।पीडामाथि पीडा थपिदै जान्छ।जीवन गुमाउनेले त सधैका लागि छोडेर जान्छ।जीवन बाँचेकाहरु छटपटाईरहेका हुन्छन।कतिसम्मको कठोर, निर्दयी अनि विध्वंसकारी यो प्रकृति पनि जसले जीवन दिएको छ र जीवन रक्षा गरेको छ, त्यो नै जीवनको कसिंगर बनी दुःख पीडा लगायतका सहन नसकिने विपत्तिको सागरमा डुबाउँछ।

एकपटक कल्पना गरेर हेरौं त यदि कोरोनाको ईपीसेन्टर नेपालको काठमाडौंमा भईदिएको भए के हुन्थ्यो होला ? जताततै संक्रमित नै संक्रमित हुन्थे।कतिपय गम्भीर अवस्थामा बेडमा छटपटाइहेका हुन्थे भने कतिपयले यो संसारबाट विदा लिइसकेका हुन्थे।जनधनको क्षति, सामाजिक र राजनैतिक खलबली, जताततै रुवाबासी, जताततै शवहरुको थुप्रो जस्ता थाम्नै नसकिने र हेर्नै नसकिने कलाली लाग्दा क्षण र अवस्थाले जिउँदै मरितुल्य त बनाउथ्यो नै , त्यो सँगसँगै नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको देशले यस्तो दर्दनाक पीडाको सामना गर्न नसकी इटालीको चिकित्सा क्षेत्र र सरकारले आत्मसमर्पण गरे जस्तै घुँडा टेकाउनुपर्ने अवस्था आउन सक्थ्यो

आशा गरौ यो कल्पनामा मात्रै सिमित रहोस।कोभिड-१९ विरुध्द विश्वको लडाई शुरु भईसकेको सन्दर्भमा एक न एक दिन यसमा विश्वको जित पक्कै हुने नै छ।फरक यति मात्रै हो कुन देशले कति चाँडो विजय हासिल गर्यो वा कुन देशले कति गुमायो।विश्वभरी कोरोनाले आतंक मचाई रहेको अवस्थामा नेपालमा भने तुलनात्मक रुपमा अहिलेसम्म शान्त नै देखिन्छ।यस पछाडीका थुप्रै प्राविधिक र प्राकृतिक कारणहरु हुनसक्छन।
नेपाल सरकारले आफ्नो क्षमताको उच्च प्रदर्शनी गरिरहेको छ, जुन निकै प्रशंसनीय छ।वास्तवमै भन्ने हो भने कोरोना भाईरसले विश्व परिवेशमा देशको हैसियत देखाई रहेको छ।देशको स्वास्थ्य पद्दति र प्रणाली समय सापेक्ष छ कि छैन भनी मुल्यांकन समेत गरिरहेको देखिन्छ।संघीय पुनर्सरचनामा स्वास्थ्य क्षेत्रको स्वरूप ठिक भयो कि बेठिक भयो भनी मुल्यांकन पनि गरिरहेको छ।
राज्य पुनर्संरचना पश्चात धेरै जनस्वास्थ्यविदहरु स्वास्थ्य क्षेत्रको पुनर्संरचनामा त्यति धेरै सन्तुष्ट देखिएका थिएनन्।उँहाहरुको आंकलन, पुर्वानुमान र विज्ञताको समेत परिक्षण भईरहेको छ। चीन, इटली, इरान, स्पेन, अमेरिका लगाएतका देशहरुले महामारी र संक्रामक रोग व्यवस्थापनमैत्री जनस्वास्थ्य संरचना र प्रणालीमा कमजोरीका कारण अहिले ठुलो मुल्य चुकाउन परिरहेको छ।विश्वमै राम्रो स्वास्थ्य प्रणाली मानिएका देशहरुको त यस्तो हालत छ भने हाम्रो देशको अवस्था के हुन्छ होला यदि कोभिड-१९ जस्ता महामारीहरुले आफ्नो कडा नृत्य देखाई राख्ने हो भने?
कोरोना लगाएतका स्वास्थ्य क्षेत्रका आतंकहरु व्यवस्थापन गर्न सरकार र आम नागरिकको भुमिका त महत्वपूर्ण छँदैछ त्यो सँगसँगै स्वास्थ्य क्षेत्रका दुईधार उत्तिकै मजबुत हुनैपर्छ।पहिलो जनस्वास्थ्य क्षेत्र र दोस्रो चिकित्सा क्षेत्र।जनस्वास्थ्य क्षेत्र बलियो हुने हो भने चिकित्सा क्षेत्रले तन्घ्रिन पाउँछ।नयाँ,जटिल खालका अवस्थाहरुसंग लड्ने गरी तयार हुन पाउँछ।समय सापेक्ष नयाँ प्रविधिहरुको अभ्यास गरी फरक चरणमा प्रवेश हुन पाउँछ।जनस्वास्थ्य क्षेत्र नै कमजोर भयो भने चिकिसा क्षेत्र सदैव झाडापखाला, हैजा, मलेरिया, डेंगु, टाईफाईड जस्ता सामान्य सरुवा रोगको वरिपरी नै बढी जस्तो घुमिराख्छ।अहिलेको अवस्था लगभग यस्तै हो भन्दा त्यति धेरै फरक नपर्ला।कुरा स्पष्ट छ,यदि चिकित्सा क्षेत्रलाई फरक चरणमा पुर्याउनु छ भने जनस्वास्थ्य क्षेत्रको समय सापेक्ष पुनर्संरचना हुनुको विकल्प छैन।
भनिन्छ, अप्ठ्यारो परिस्थितिले धेरै कुरा सिकाउछ।यो लडाईको समापन पश्चात आउने दिनमा यस्ता लडाईको पूर्व तयारी गर्ने संरचना वा प्रणालीको विकास गर्ने कि नगर्ने भन्ने विषयमा गम्भीरतापूर्वक बहस र प्रश्न उठ्न सक्छन।अहिलेको जनस्वास्थ्यका संरचना हेर्ने हो भने समय सापेक्ष निकै कमजोर देखिन्छन।देशलाई संक्रमणको जोखिमबाट सहज तरिकाले रोकथाम गर्न सकिने अवस्था छैन भन्दा शायदै फरक नपर्ला। अझै यसमा दुख र उदेक लाग्दो के छ भने,  कुनै कुनै प्रदेशका गैर स्वास्थ्य विज्ञहरुले समग्र स्वास्थ्य प्रणालीलाई सक्षम र सीप, औजार, उपकरणयुक्त बनाउनुको साटो एउटा कुनामा लगेर थन्क्याउने बुझ वा अबुझ गलत अभ्यास गरी जनस्वास्थ्यलाई उल्टो दिशामा हिडाली रहेका छन भन्दा अन्याय नहोला।
विपद/महामारी व्यवस्थापन सम्बन्धी धेरै कानुनी दस्तावेजहरु मौजुदा छन तर भएर के गर्ने? कानुनी दस्तावेजहरुको प्रभावकारी कार्यान्वयनको लागि सुहाउदो संरचना त हुनपर्यो।अबको दिशा संविधान संशोधन गरेर हुन्छ वा जे गरेर हुन्छ कम्तिमा देहाय बमोजिमको पुनर्संचना हुन जरुरी देखिन्छः
१) संघीय र प्रादेशिक रुपमा जनस्वास्थ्यका संरचनाहरु वैज्ञानिक तवरले संगठन/संरचना सर्वेक्षण,
२) प्रादेशिक स्तरमा स्वास्थ्य मन्त्रालय,
३) स्वास्थ्य क्षेत्रको नेतृत्व स्वास्थ्यविद्कै हातमा,
४) बढीमा दुई तहमा मात्रै स्वास्थ्य क्षेत्रको संचालन तथा नियन्त्रण प्रणाली, पर्याप्त वित्तीय सहजीकरण, खोज सोध अनुसन्धान आदि नयाँ स्वास्थ्य तयारिको गिद्रो हुनसक्छ।
 
अन्त्यमा, पहिला पनि महामारीको आगमनले केहि पाठ सिकाएर गएका थिए।यो पटक कोभिड-१९ ले कम्तिमा हात मिलाउने अस्वस्थ बानी हटाई नमस्कार गरी स्वस्थ अभिवादन गर्ने, केहि स्वस्थ आहार व्यवहारको प्रबर्धन, सरुवा रोग सम्बन्धी चेतना र जनस्वास्थ्यको महत्वको बारेमा छाप छोडेर जाने लगभग पक्का छ।
लेखक : रमेश कुँवर, हाल सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य अधिकृत पदमा कार्यरत हुनुहुन्छ /