कोरोना कहर भित्रका सकारात्मक दृष्टिकोणहरु : हर कोहीको जीवन फेरिन सक्छ /

  • भनिन्छ, निराशावादी व्यक्तिहरुलाई अवसरमा पनि कठिनाई नजर आउँछ र आशावादी व्यक्तिहरुलाई कठिनाईमा पनि अवसर नजर आउछ।कोरोनाको कहरले अहिले धेरैका रहरहरुलाई मनभित्रका नहरहरुमा बगाई दिएको छ।जताततै कोरोनाकै मात्र चर्चा र संत्रासले जनजीवन नै कोरोनामय बनाएको छ।कहिँ यति केस देखिए, कहिँ उति केस देखिए, कहिँ यति मरे, कहिँ उति मरे  लगायतका घट्नाक्रम र सोबाट सिर्जित परिणामको बारेमा मात्रै बहस हुन थालेका छन।
    दिन प्रतिदिन कोरोनाबाट संक्रमित र मृतकको संख्या अंकगणितिय हिसाबले बढ्दै जाँदा  कतिपयलाई त चुनावको मतगणना हुँदा बखतको सम्झनामा पुर्याईदिएको छ।प्रत्येक घण्टा/घण्टामा कोरोनाकै अपडेट हेर्ने र पछिल्लो तथ्यांक र त्यसबाट घट्न सक्ने सम्भावित घट्नाक्रमकै बारेमा हिसाब किताब हुन थालेका छन।कोरोनाले मन मष्तिष्कमा जडा गाडेको अवस्थामा कतिपयलाई त सपनामै कोरोनाको काँडेदार आकार प्रकारको प्रतिबिम्ब झल्किरहेको हुनसक्छ।जता हेरयो त्यतै कोरोना भाइरस पो छ कि भन्ने भ्रम पर्न थालेको छ।छोटकरीमा भन्नुपर्दा कोरोनाको त्रासले नकारात्मकतालाई बढी प्रश्रय दिइरहेको छ।
    जतिसक्दो चाडो मानव जातिले कोरोनाबाट उन्मुक्ति पाउनुपर्छ र जनजीवन सामान्य बन्नुपर्छ, भन्नेमा दुईमत पक्कै छैन।कोरोनाको कहर नियन्त्रण तथा रोकथामको लागि राज्यले गरेका प्रयासहरुले महामारी नियन्त्रण गर्नमा महत्वपूर्ण भूमिका त खेल्ने नै छ।त्यो सँग सँगै महामारी नियन्त्रणका लागि सरकारले चालेको लकडाउन लगायतका महत्वपूर्ण कदमले जनजीवनमा सकारात्मक वा नकरात्मक के कस्तो असर पारिरहेको छ त ? यसबारेमा बिश्लेषण गरी हेर्दा, मलाई लाग्छ, कोरोना नियन्त्रणका लागि राज्यले प्रहार गरेका जनस्वास्थ्यका अस्त्रहरुले कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय सहयोग त गरेकै छ, त्यसका साथै निम्न केहि सकारात्मक कुराहरुमा पनि बढावा दिई रहेको छ।

    • अबको जनस्वास्थ्य प्रणाली कस्तो हुनुपर्छ भन्ने गतिलो सिकाई भएको छ,
    • प्रायः प्रत्येक दिनजसो सुनिने सवारी दुर्घटनामा यति जना मृत्यु, उति जना घाइते र अशक्त अपांग हुने दुखद खबरहरु सुन्न परेको छैन,
    • सबै परिवार संगै भएका कारणले आत्महत्या गर्नेको संख्या घटेको छ,
    • ग्यांग फाईटका घटनाहरु सुन्न पाईएका छैनन,
    • मापसे र अन्य लागु पदार्थको अत्यधिक प्रयोगले निम्तिन सक्ने आकस्मिक घट्ना र मृत्युदरमा कमि भईरहेको छ,
    • दिनभरिको अस्तव्यस्तताले उत्पन्न हुने मानसिक तनाव घटेको छ,
    • चोरीका घटनाहरुमा कमि आएका छन,
    • घरपरिवारका सदस्य संग आत्मियता बढ्ने र साइकोलोजिकल इन्टिग्रेसनमा बढावा भइरहेको छ,
    • खानपान, आहारविहार, व्यक्तिगत र घरायसी सरसफाईमा विशेष ध्यान बढ्दैछ,
    • घरभित्र पुजापाठ, आराधना र प्राथना गरेर मन मष्तिस्कमा शान्ति बढाउने काम भइरहेको छ,
    • योग व्यायाम मेडीटेसन आदीको माध्यमबाट गरेर शरीरलाई स्वस्थ बनाउने बानीको विकास भइरहेको छ,
    • रक्सी, चुरोट, गाँजा आदी नसालु पदार्थ छोड्न प्रयत्न गरिरहनु भएकाहरुलाई अनुकुल वातावरण सिर्जना भएको छ,
    • कथा, उपन्यास, चलचित्र, डकुमेन्ट्री आदी हेरेर ज्ञानको दायरा बढिरहेको छ,
    • फोन, म्यासेन्जर जस्ता संचार माध्यमहरुबाट आफन्तजनसँग कुराकानी गरी सम्बन्धमा पुनर्ताजगी ल्याउने कार्य भैरहेको छ,

    अन्त्यमा, कोरोना विरुद्दको लडाईमा राज्य युद्दस्तरमा लागिरहेको छ।तर यो भीषण लडाईमा नागरिकहरुले आ-आफ्नो स्थानबाट कस्तो भूमिका खेलिरहेका छन ? कोरोना नियन्त्रणसंग सम्बन्धित लडाईमा सहयोग गरिरहेका छन कि असहयोग ? स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु लगाएतका अन्य सरोकारवालाहरुले सक्रिय सहभागिता जनाएका छौ कि छैनौ ? यी गम्भिर प्रश्नहरुको सकरात्मक उत्तर दिने अवस्थामा हामी उभिन सक्नुपर्छ।हरेक कठिन अवस्था माथि विजय पाउँन मानव जातिसंग भएको सबैभन्दा महत्वपूर्ण अस्त्र सकारात्मक सोच हो।सबैले यी प्रश्नहरुमा स्वमुल्यांकन गरौं र आ आफ्नो तर्फबाट सकारात्मक तरिकाले कोरोना विरुद्दको लडाईमा सरकारलाई सहयोग गरी विजयको सुनिश्चिता गरौ।
    (लेखक : रमेश कुँवर, हाल सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य अधिकृत पदमा कार्यरत)