कोरोना संक्रमण रोकथामका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपनाएका मुख्य ६ वटा रणनीतिहरु !

  • कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपनाएका मुख्य ६ वटा “T” रणनीतिहरु
    पहिलो टी : ट्राभल रेष्ट्रिक्सन
    यसको लागि आवतजावत बन्द गर्ने नै हो । जसको लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् भने नेपाल भित्र पनि गत चैत्र १० गतेदेखि लकडाउनको अवस्था छ । यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरु क्वारेन्टाइनमा रहन जरुरी छ । जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसरोस् । हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन् । यो प्रभावकारी पनि सावित भएको छ । यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ ।
    दोश्रो टी : टेष्टिङ
    यस अन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको नमुना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमुना परीक्षण गर्ने नीति लिइएको छ । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधीमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा हामीले कार्यविधि बनाई व्यवस्थित गरेका छौँ । हाम्रो हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरै भन्दा धेरै व्यक्तिहरुलाई सो दायरामा ल्याई परीक्षण गर्नु हो ।
    तेश्रो टी : ट्रेसिङ
    ट्रेसिङ्ग भन्नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरु जोसँग ति संक्रमितहरु न्जिकको सम्पर्कमा आउनुभयो त्यस्ता व्यक्तिहरुलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो । हामीले धेरैजसो संक्रमितहरुको ट्रेसिङ्ग कार्य पुरा गरिसकेका छौँ भने पछिल्लो समयमा पहिचान भएका संक्रमितहरुको ट्रसिङ्ग कार्य भइरहेको छ । यो कार्य इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रुपमा गर्दै आइरहेको छ ।
    चौथो टी : ट्रयाकिङ
    सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा सो कुराको यकिन गरी उनिहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्रेकिङ्ग कार्य हो । यसको लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, CCMC तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेवसाइट मार्फत ट्रेकिङ्ग कार्यलाई थप व्यवस्थित गरिएको छ ।
    पाँचौ टी : ट्रिटमेन्ट
    सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले आफ्नो रणनीति तय गरेको छ । कोरोना संक्रमणको उपचारको लागि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका विभिन्न अस्पतालहरुलाई तोकिएको छ ।
    कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निशुल्क गर्ने प्रबन्ध गरेको छ । कोरोना संक्रमण बाहेकका आकप्मिक सेवा र निरन्तर उपचारका क्रममा रहनुभएका बिरामीहरु थप समस्यामा नपरुन र उनीहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेको ब्यहोरा अनुरोध छ ।
    यस महामारीको घडिमा के सरकारी के गैह्रसरकारी सबै किसिमका अस्पतालहरुबाट उपचार गर्नु पर्ने हुन्छ । त्यसैले नेपाल भरका सबै किसिमका अस्पतालहरुलाई सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय तयारी अवस्थामा रहेको छ ।
    छैठौं टी : टुगेदर
    कोरोना संक्रमणको यो सम्भावित महामारी रोक्न स्वास्थ्य मन्त्रालय मात्र होइन सिंगो देश नै लागिपरेको छ । उच्च स्तरीय समिति, CCMC देखि लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विभिन्न तहमा कमिटिहरु बनाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ । श्रोत: edcd