कोरोना संगै अर्को डरलाग्दो महामारी : ब्ल्याक फंगस ! के हो ‘ब्ल्याक फंगस’ ? कसरी बच्न सकिन्छ ?
कोभिड–१९ को सक्रिय संक्रमितका साथै संक्रमणमुक्त भएकाे ६ साता नाघिसकेकालाई पनि म्युकरमाइकोसिस भएको छ।

  • आम भाषामा ‘ब्ल्याक फंगस’ भनिने म्युकरमाइकोसिस एक प्रकारको कालो ढुसीले निम्त्याउने समस्या हो। म्युकर नामक यो ढुसी हाम्रै वरिपरि, जहीँतहीँ हुन्छ। कुहिएको खाना, पानी बग्ने धारा, माटो, घाँस–पतिंगर, फोहोर लगायतमा यो ढुसी उब्जिन्छ।

    हामी स्वस्थ रहेका बेला, हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बलियो छँदा यसले आक्रमण गर्न सक्दैन। अहिले कोभिड-१९ महामारीका बेला म्युकरमाइकोसिसको समस्या बढेको छ। यसबाट संक्रमित हुनेको संख्या भारतमा धेरै छ। हामीकहाँ पनि फाट्टफुट्ट बिरामी आउन थालेका छन्।

    यो अलि दुर्लभ खालकै फंगल इन्फेक्सन हो। विशेषगरी तीन/चारवटा अवस्थामा यो संक्रमण हुन्छ। एक, शरीरको रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम भएमा। दुई, सुगर (मधुमेह) को रोगी भएमा। तीन, कोभिडको उपचारका क्रममा स्टेरोइड्स जस्ता इम्युनोमोडुलेटर औषधिको अनियन्त्रित प्रयोग गरेमा वा जसलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्‍यो अनि लामो समयसम्म अक्सिजन थेरापी दिनुपर्‍यो, उनीहरूलाई म्युकरमाइकोसिसको जोखिम हुन्छ।

    कोभिड–१९ को सक्रिय संक्रमितका साथै संक्रमणमुक्त भएकाे ६ साता नाघिसकेकालाई पनि म्युकरमाइकोसिस भएको छ। निको भइसकेपछि यसको संक्रमण हुनुको कारण के हो भने, कोभिडको गम्भीर बिरामी भएकालाई स्टेरोइड्स जस्ता औषधि पछिसम्म पनि चलाउनुपर्ने हुन्छ, त्यो बेला उनीहरूको रोगसँग लड्ने क्षमता कमजोर भएको हुन्छ।
    त्यस्तै, अंग प्रत्यारोपण गरेका, किमो थेरापीमा रहेका क्यान्सरका बिरामीहरूमा यो रोग देखिएको छ। यसको असली नाम राइनो–अर्बाइटो–सेरेब्रल म्युकरमाइकोसिस हो। जसमा राइनो भन्नाले नाक, अर्बाइटो भन्नाले आँखाको नानी रहने घर र सेरेब्रल भन्नाले मस्तिष्क हो। यसले विशेषतः यिनै अंगमा बढी आक्रमण गर्छ। तर, अन्य अंग जस्तै पेटको आन्द्रामा र छातीमा पनि असर गर्नसक्छ। तर, अहिले कोभिड–१९ का बेला नाक, आँखा र टाउकोमै बढी असर देखिएको छ।

    कोभिड–१९ को सक्रिय संक्रमितका साथै संक्रमणमुक्त भएकाे ६ साता नाघिसकेकालाई पनि म्युकरमाइकोसिस भएको छ। निको भइसकेपछि यसको संक्रमण हुनुको कारण के हो भने, कोभिडको गम्भीर बिरामी भएकालाई स्टेरोइड्स जस्ता औषधि पछिसम्म पनि चलाउनुपर्ने हुन्छ, त्यो बेला उनीहरूको रोगसँग लड्ने क्षमता कमजोर भएको हुन्छ। त्यहीमाथि सुगर पनि अनियन्त्रित भयो र सरसफाइमा ध्यान दिइएन भने म्युकरमाइकोसिसले छिटो समात्छ। 

    कोभिड–१९ को संक्रमण भएपछि रोगसँग लड्न हाम्रो शरीरले अत्यधिक मात्रामा प्रतिरक्षा प्रणाली निर्माण गरिरहेको हुन्छ, त्यो असाध्यै बढी भएपछि बिरामीको मृत्यु हुन्छ। त्यसरी बढी भएको प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा ल्याउन हामीले स्टेरोइड्स जस्ता औषधि दिन्छौं। स्टेरोइड्स चलाएपछि शरीरको इम्युनिटी कम हुन जान्छ, सुगर लेभल बढ्न थाल्छ। यो अवस्था म्युकर ढुसीका लागि उत्तम बनिदिन्छ।   

    म्युकर जिउभित्र प्रवेश गरेपछि त्यसले कुनै भागको छालामुनिको मासु बिगार्दै हड्डीसम्मै पुग्छ, कोषिकाहरूलाई खाँदै जान्छ र गहिरो घाउ बनाउँछ। त्यही घाउ कालो–कालो देखिने भएकाले यसलाई ब्ल्याक फंगस भनिएको हो। यो आफैंमा कालो हुँदैन।  

    अहिले संकटको घडीमा ‘ब्ल्याक फंगस’ अर्थात् म्युकरमाइकोसिसबारे बरोबर सचेत हुनुपर्छ। अलिअलि नाक बन्द भयो, सिँगानमा अलिअलि रगत आयो, अलिअलि आँखा सुन्नियो भनेर चुप लागेर बस्नु हुँदैन। यसबारे चासो दिइएन र रोग गम्भीर अवस्थामा पुगेपछि मात्रै चाल पाइयो भने ठूलै अप्ठ्यारो आइपर्नसक्छ।
    म्युकरमाइकोसिसको संक्रमण हुँदा विशेषतः नाक बन्द हुन्छ। पहेँलो पिप जस्तो वा रगत मिसिएको सिँगान वा खकार आउँछ। आँखाको नानी दुख्ने, आँखा वा अनुहारको एक पाटो सुन्निने, अनुहारको छालामा छोएको थाहा नहुने वा कम थाहा हुने हुन्छ। आँखा वरपर वा नाकको छालाको रङ रातो, नीलो वा कालो जस्तो देखिन्छ। नाकभित्र र मुख आँ गर्दा पनि भित्रपट्टिको तालु कालो देखिन्छ। बिरामीलाई धेरै टाउको दुख्ने हुन्छ। आँखाका मांसपेशी गलेर आँखा चलाउनै नसक्ने, एउटै चिज दुइटा देखिने, आँखाको दृष्टि घट्ने हुन्छ।

    यसको रोकथामका लागि केही सावधानी अपनाउनुपर्छ। कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना भइएको छ भने त्यो बेला उपचारमा खटिएका समूहले विशेष ध्यान दिनुपर्छ। अक्सिजनको ट्युब र मास्क सेयर गर्न मिल्दैन, बिरामीपिच्छे अलग हुनुपर्छ। बिरामीलाई भेन्टिलेटरमा राख्दा ह्युमिडिफायरको पानी हरेक दिन फेरिरहनुपर्छ। त्यसो नगरे यी ठाउँमा ढुसी पर्न सक्छन्। हामीले सास फेर्दा त्यही ढुसी नाकबाट छिरेर समस्या शुरू हुन्छ। 

    बिरामीले आफूखुशी जथाभावी स्टेरोइड्स औषधि सेवन गर्नु हुँदैन। चिकित्सकको सल्लाह अनुसार उहाँहरूको निगरानीमा मात्रै प्रयोग गर्नुपर्छ। मुख एकदमै सफा राख्न जरुरी छ। दाँत माँझ्ने, मुख कुल्ला गरिरहन भुल्नु भएन। बेटाडिनले गार्गल गरे पनि हुन्छ।

    कोभिडको उपचारमा रहेका वा निको भइसकाले पनि मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। नाकबाटै ढुसी छिर्ने भएकाले मास्क लगाउनैपर्‍यो। मधुमेह वा अन्य कुनै रोग छ भने आफ्नो शरीरमा प्रतिरोधात्मक क्षमता कसरी बढाउने भन्नेबारे चिकित्सकलाई सोध्नुपर्छ, सुगरलाई नियन्त्रणमा राख्नुपर्छ।  

    शुरुआती अवस्थामै रोग पत्ता लाग्यो भने यसको उपचार सहज छ। अहिलेका धेरैजसो रिपोर्टमा पिनास देखिएको छ। यस्तोमा सुईबाट एन्टिफंगल औषधि दिन सकिन्छ। तर, यस्ता औषधि त्यति सजिलै पाइँदैनन्।

    अलिअलि नाक बन्द भयो, सिँगानमा अलिअलि रगत आयो, अलिअलि आँखा सुन्नियो भनेर चुप लागेर बस्नु हुँदैन। अहिले संकटको घडीमा म्युकरमाइकोसिसबारे बरोबर सचेत हुनुपर्छ। यसबारे चासो दिइएन र रोग गम्भीर अवस्थामा पुगेपछि मात्रै चाल पाइयो भने ठूलै अप्ठ्यारो आइपर्नसक्छ। शल्यक्रिया मार्फत त्यसले खाएका सबै भाग निकालेर फाल्नुपर्ने हुनसक्छ, आँखै निकाल्नुपर्ने हुनसक्छ। अझै दुःखको कुरा, यसको मृत्युदर ५० प्रतिशत छ। अर्थात्, यो रोग लागेका आधा मान्छेको मृत्यु हुन्छ।

    जानकारी श्रोत : https://www.himalkhabar.com/