खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?( नयाँ खोप तालिका सहित )

  • भनिन्छ, खोपको खोज हुनुभन्दा पहिले संसार निकै खतरनाक थियो । त्यसबेला अनेकन रोगले लाखौं-लाख मान्छेको मृत्यु हुन्थ्यो ।
    खोप चिकित्सा विज्ञानको एक प्रभावकारी उपलब्धी हो । भविष्यमा लाग्न सक्ने कुनैपनि किसिमको संभावित रोगबाट शरीरलाई बचाइराख्न खोप लगाउने गरिन्छ । खोपले हामीलाई भविष्यमा हुनसक्ने संभावित रोगको खतराबाट सुरक्षित गराउँछ । त्यसैले शारीरिक स्वास्थ्यको आधारभूत कुरा हो, खोप ।
    खोपले शरीरमा यस्तो प्रतिरोधी क्षमताको विकास गर्छ, जसले गर्दा कतिपय संभावित रोग लाग्न सक्दैन । खोप भनेको खासगरी सुईको माध्यामबाट सम्बन्धित रोगका मृत वा कमजोर व्यक्टेरिाया मानिसको शरीरमा प्रवेश गराइन्छ । रोग प्रतिरोध गर्ने एन्टिबडी उत्पादन गर्न श्वेत रक्तकोषलाई सक्रिय पारिन्छ ।
    खोप तालिका :

    यसरी शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि सानै उमेरमा खोप दिने गरिन्छ । यसले उनीहरुलाई आजीवन कतिपय रोगबाट बचाउँछ । खासगरी बालबालिकालाई स्वस्थ्य राख्न, अपाङ्गताबाट बचाउन, गंभिर रोग लाग्न नदिन खोपहरुको निर्धारित मात्रा पुरा गर्नुपर्छ ।
    कुन रोग विरुद्ध खोप ?
    भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकर, हेपाटाइटिस ‘बी’, हेमोफिलस इनफ्लुएन्जा, जापानिज इन्सफ्लाइटिस, निमोनिया, दादुरा-रुवेला जस्ता रोगबाट बच्न सानै उमेरमा खोप दिइन्छ । यसैगरी १२ महिनामा जापानिज इन्सफ्लाइटिस र १५ महिनामा दादुरा-रुवेलाको दोस्रो डोज पनि दिइन्छ ।
    जबकी खोपको विकास हुनुपूर्व वा खोपको प्रयोग अघि यी रोगबाट कैयौं बालबालिकाको मृत्यु हुन्थ्यो, अंगभंग हुन्थे । बच्चा जन्मिएको एक बर्षभित्र अहिले यी रोग विरुद्ध खोप दिने गरिन्छ । यी खोपबाट संभावित खतरा टार्न सकिन्छ ।
    गर्भवतीलाई पनि
    गर्भमा रहेको बच्चासँग गर्भवती महिलाको स्वास्थ्यको प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसैले बच्चा गर्भमा रहेकै बेला गर्भवती महिलालाई पनि केही खोप दिइन्छ । गर्भवतीलाई खासगरी धनुष्टांकार र भ्यागुते रोग विरुद्ध खोप दिइन्छ ।
    यसकारण आवश्यक छ खोप
    बच्चा जन्मिएपछि दम्पतीले खोप लगाउने कुरामा बेवास्ता गर्नुहुँदैन । एक बर्षभित्र विभिन्न रोग विरुद्धको खोप लगाउनुपर्छ । यसरी खोप लगाएपछि के हुन्छ त ?
    बच्चा जन्मिएपछि खोप तालिका अनुसार तोकिको समयमा, तोकिएका सबै खोपहरु लगाउँदा बालबालिकामा सरुवा रोगसँग लड्ने क्षमता विकास हुन्छ । बालबालिकामा रोग लाग्ने दार, अपांगता हुने दर र मृत्यु हुने दरमा कमी आउँछ । विभिन्न किसिमको सरुवा रोगबाट बच्न सकिन्छ । त्यसैले बच्चा जन्माएपछि दम्पतीले बच्चालाई दिइने खोपबार जानकारी लिनुपर्छ । कुन खोप कहिले दिने, कहाँबाट दिने भन्नेबारे स्पष्ट रुपमा बुझ्नुपर्छ ।
    निशुल्क उपलब्ध
    यहाँ उल्लेखित खोपहरु लगाउनका लागि कुनै शुल्क तिर्नुपर्दैन । नेपाल सरकारले निशुल्क रुपमा ति खोप उलब्ध गराउँछन् ।
    कहाँ लगाउने ?
    कुनैपनि खोप लगाउनका लागि आफुलाई पायक पर्ने स्वास्थ्य स्वास्थ्यमा गए हुन्छ । स्वास्थ्य संस्थाले कतिपय खोप लगाउनुअघि त्यसको मिति तय गरेको हुन्छ । त्यसैले कुन दिन उक्त खोप लगाइने हो, सोबारे चासो राख्नुपर्छ । उपयुक्त समयमा नै खोप लगाउनुपर्छ ।
    कुन खोप कहिले ?
     वि.सि.जी
    यो खोप जन्मनसाथ लगाइन्छ । यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ ।
    डि.पि.टी- हेप/ बि-हिब
    यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।
    पोलियो
    पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियोमाईलाइटिसबाट जोगाउँछ ।
    एफआइपीभी
    यो ६ हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ । दुई पटक दिनुपर्छ । यसले रोटा भाइरसद्वारा हुने पखला बिरुद्ध काम गर्छ ।
    पि.सी.भी.
    यो खोप ६ हप्ता, १० हप्ता र ९ महिनाको उमेरमा दिइन्छ । यो तीन पटक दिइन्छ । यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ ।
    दादुरा-रुबेला
    यो खोप ९ महिना र १५ महिनाको उमेरमा दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ ।
    जे.ई
    यो खोप १२ महिनाको उमेरमा दिइन्छ । यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ ।
    टी.डी.
    यो खोप गर्भवती महिलालाई दिइन्छ । यसले धनुष्टांकार र भ्यागुते रोगबाट बचाउँछ । अनलाईनखबर