चिसो बाट कसरी बच्ने ? कस्ता समस्याहरु आउछन ? कस्ता खानपिन खानुपर्छ ?

  • कसरी बच्ने चिसो बाट
    जाडो याम सुरुवात भएको पनी केहि दिन भई सक्यो । बिहानबेलुका निकै चिसो बढ्न थालेकोले यसबाट जोगिनु उपयुक्त हुन्छ । चिसो बढेसँगै जाडोयाममा देखिने रोगहरू पनि देखिने समय सुरु भएको छ । जाडोयाममा विशेष गरि समस्या देखिने भनेको बूढा–बूढी र बालबालिकामा नै हो । बालबालिकामा पनि भर्खर शिशुहरूमा धेरै समस्या देखिने सम्भावना रहन्छ । तर, केही साधारण कुरामा मात्र ध्यान दिने हो भने पनि धेरै रोगहरूबाट सहजै बच्न सकिन्छ ।
    जाडो याममा देखिने स्वस्थ्य समस्या

    • श्वासप्रश्वासको समस्या
      विशेष गरि यो समस्या ६५ काटेका बूढाबूढीमा देखिन्छ । अझ प्राय गरेर पहिले देखि नै स्वासप्रस्वासको रोग भएका वृद्धवृद्धाका लागि जाडोयाम निकै कष्टकर समय हो । चिसोका कारण थोरै मात्र काम गर्दा पनि दम बढ्छ र यसले अन्य धेरै समस्याहरू पनि निम्त्याउँछ । धेरै दम बढेमा त्यसले मुटुमा पनि असर गर्छ र मुटुको समस्या पनि थपिन सक्छ । त्यसैले जाडो याममा बूढाबूढीलाई चिसोबाट जोगाउनु नै उत्तम हुन्छ ।
    • रुघाखोकी
      जाडो यामको अर्को मुख्य समस्या भनेको रुघाखोकी हो । रुघाखोकी लाग्नुको मुख्य कारण भाइरल संक्रमण नै हो । भाइरल संक्रमणबाट बच्ने उपाय भनेको रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्ने । उनीहरूलृ प्रयोग गरेको सामान सकेसम्म प्रयोग नगर्ने नै हो । शरिरलाई न्यानो राख्न सक्यो भने पनि भाइरल संक्रमणबाट बच्न सकिन्छ । त्यसैले समय समयमा तातो तरल पदार्थको सेवन निकै हितकर हुन्छ । जाडोयाममा पानी थोरै मात्र पिउने बानी धेरैमा हुन्छ, जुन अस्वस्थकर मानिन्छ ।
    • निमोनिया
      यो धेरै जसो दुई वर्ष भन्दा कम उमेरका बच्चाहरू र बूढाबूढीमा देखिने रोग हो । यो एक प्रकारको छातीमा हुने संक्रमण हो । यो रोग पनि भाइरस, ब्याक्टेरिया, फंगसकै संक्रमणकै कारण हुन्छ । यो अन्य मौसममा पनि देखा पर्न सक्छ । तर, जाडोयाममा भने यसले अलिक धेरै उग्र रुप लिन्छ । किनभने यो स्वासप्रस्वास, रुघाखोकी सबैलाई साथै लिएर आउँछ र उपचारलाई झन् जटिल बनाइ दिन्छ ।
    • हाइपोथर्मिया
      जाडोयाममा बाहिरको मौसमलाई बेवास्ता गरेर मनलागि गरे हाइपोथर्मिया हुने सम्भावना धेरै रहन्छ । हाइपोथर्मिया आफैँमा रोग भने होइन । तर, यसले विभिन्न प्रकारको स्वस्थ्य समस्या भने निम्त्याउन सक्छ । हाइपोथर्मिया भनेको आफ्नो शरिरले उत्पादन गर्न सक्ने ताप भन्दा छिटो त्यो ताप शरिरबाट बाहिरिनु हो । धेरै चिसो ठाउँमा पातलो लुगा लगाएर काम गर्दा वा चिसोको सम्पर्कमा धेरै समय रहँदा यो आपतकालिन समस्या उत्पन्न हुन । सक्छ । यदि यसको समयमा नै उपचार वा रोक थाम गरिएन भने ज्यान जाने खतरा सम्म रहन्छ ।
    • फस्र्टबाइट
      यो समस्या भने विशेष गरेर हिँउ नै पर्ने ठाउँमा देखिन्छ । शरिरको कुनै पनि अंग धेरै लामो समयसम्म हिँउ वा चिसो पानीको सम्पर्कमा रहिरहे यो समस्या हुन सक्छ । त्यसैले शरिरलाई हिँउ वा चिसो वस्तुबाट जोगाउनु नै राम्रो हुन्छ । यदि धेरै नै नराम्रो सँग फस्र्ट बाइट भएमा उक्त ठाउँलाई चिरेर नै फाल्नु पर्ने अवस्था पनि आउन सक्छ । यो खास गरि हिमाली क्षेत्रमा बस्ने मानिसको हात–गोडा देखिन्छ ।
    • कार्बनमोनो अक्साइड पोइजनिङ
      यो जाडोयाममा खास गरि आफ्नो लापरवाहीले गर्दा देखिने समस्या हो । चिसोको कारण झ्याल ढोका सबै ढाम्ढुम पारेर आगो ताप्नु हाम्रो वरपर सामान्य कुरा हो । तर, यसरी न्यानो हुने चाहमा कतैबाट हावै नछिर्ने गरि ढामढुम पारेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइ अक्साइड वा कार्बन मोनोअक्साइड भन्ने ग्याँसको मात्र बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरिरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्छ वा मृत्यु नै पनि हुन सक्छ । जाडो याममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो । त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो हुन्छ ।

    जाडोमा स्वस्थ रहन
    – जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै धेरै फाइदा हुन्छ । हिँड्डुल गर्नै पर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ ।
    – बन्द कोठा भित्र बसेर आगो वा हिटर नताप्ने । राम्रोसँग हावा आवत जावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने ।
    – तातो पानी सकेसम्म धेरै पिउने । चिसो कुराको सेवन नगर्ने ।
    – भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्ने ।
    – मौसमी फलफुल विशेष गरेर भिटामीन सि युक्त फलफुलको सेवन धेरै गर्ने ।
    – स्वासप्रस्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अप्नाउने र समय समयमा चिकित्सकसँग परामर्श गरिरहने ।
    – बालबालीकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु हुँदैन । भित्र भित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले अन्य समस्या नित्याउँछ ।
    – जाडो मौसममा तुँवालो लागेको बेला माक्सको प्रयोग गर्नाले पनि धेरै प्रकारका स्वासप्रस्वासका समस्याबाट जोगिन सकिन्छ ।
    – हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले मोस्चुराइजर क्रिमको प्रयोग गर्ने ।
     
    जाडोको सामना कसरी गर्ने
    हरेक पटक मौसम परिवर्तन हुन्छ । तर, परिर्वर्तित मौसममा बानी पर्न हामीलाई केही समय लाग्छ । परिर्वर्तित मौसममा एडजस्टमेन्ट हुने बेलामा शरिरको रोग प्रतिरोधात्मक क्षमता पनि न्युन हुन्छ र शरिर विभिन्न भाइरस र ब्याक्टेरियाले शरिरमा आक्रमण गर्ने दाउमा हुन्छन् । बिचार नपु¥याएमा तत्कालै बिरामी हुन पुगिन्छ । बाह्य तापक्रममा भएको परिवर्तनले चिसोसँगसम्बन्धी विभिन्न रोग लाग्छ ।
    रोग प्रतिरोधात्मक क्षमता बढाउने
    कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण जाडोसँग सम्बन्धित विभिन्न रोगले आक्रमण गर्छ । प्रतिरोधात्मक क्षमता बलियो भएमा चिसोजन्य रोगको संक्रमणबाट मात्र बचाउँदैन अन्य गम्भीर रोग निम्तिनबाट पनि बच्न सकिन्छ । राम्रो र स्वस्थ खानेकुरा खाएर प्रतिरोधात्मक क्षमता बृद्धि गर्न सकिन्छ । सन्तुलित खानाले मानिसलाई स्वस्थ र तन्दुरुस्त बनाउँछ । जाडोमा पर्याप्त आराम गर्दा र बेला–बेला घाम ताप्दा राम्रो हुन्छ ।
    अनुहारको छाला जोगाउने
    चिसो र सुख्खा मौसमले छालालाई सुख्खा बनाउँछ । सुख्खा छाला फुट्ने गर्छ । तसर्थ जाडोको समयमा प्रशस्त पानी पिउनुपर्छ र मोश्चराइजर क्रिम लगाउनुपर्छ । एभोकाडो, जैतुन र नरिवलको तेलले छालालाई शितल  र मुलायम बनाउँछ ।
    पर्याप्त पोषण
    प्रशस्त पोषणले पनि तपाईंको स्वास्थ्य र छालाको स्याहार गर्छ । भिटामिन सीले प्रतिरोधात्मक क्षमता सशक्त बनाउँछ । भिटामिन सीले रुघाखोकीबाट पनि बचाउँछ ।
    परिवर्तनका लागि तयार
    मौसम परिवर्तनका लागि शरिरलाई तयारी अवस्थामा राख्नुपर्छ । बदलिदो मौसमसँग जुध्न प्रशस्त लत्ताकपडा र खानेकुराको पूर्व व्यबस्था गर्नुहोस । कुन केला कुन खानेकुरा खाने र कुन कपडा लगाउने विषयमा ज्ञान नहुदा धेरै मानिस चिसोको शिकार हुन्छन् । रातको समयमा विशेष ध्यान दिनुहोस । एयर कन्डिसन र अन्य तापसम्बन्धी उपकरण राम्रो अवस्थामा छन वा छैनन भन्ने बारे ध्यान दिनुपर्छ । 

     चिसोबाट बँच्ने ५ अचुक उपाय

    जाडो मौसम र खानपान:
    जाडोको सुरुवातसँगै तापमान घट्ने भएकाले धेरै मानिसमा रुघाखोकी लाग्ने, घाँटी खसखस हुने, घाँटी खप्प बस्ने आदि समस्या उत्पन्न हुन्छ । भाइरल तथा चिसोका कारण धेरैलाई यस्तो हुन्छ । जाडो मौसममा धेरैजसोलाई लामो समयसम्म रुघाखोकी लाग्छ भने निको हुन पनि धेरै नै समय लाग्न सक्छ । उचित रेखदेख गरी न्यानो रहँदै ताता खानेकुरा खाए रुघाखोकी आफै निको हुन्छ भने कतिपय अवस्थामा औषधि नै सेवन गर्नुपर्ने हुन्छ । यसका साथै जाडो मौसममा मुटु, दम, निमोनियाँ आदि रोगले पनि बढी सताउँछ ।
    खानेकुराले पनि स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले मौसम परिवर्तनसँगै उचित खाद्यवस्तु छनोट गर्नुका साथै स्वस्थ खानेकुरा खानुपर्छ ।
    हाम्रो दैनिक खानपानका साथै सामान्य दिनमा पनि मौसममा परिवर्तन आउने भएकाले मौसमअनुसारका उचित खाद्यवस्तु प्रयोगमा ल्याउनुपर्छ । अन्यथा हैजा, झाडापखाला, छालामा फुस्रोपन जस्ता समस्या साथै पाचन प्रक्रियामा समेत समस्या उत्पन्न हुन्छ ।
    जाडोमा बाहिरी तापक्रम कम हुने भएकाले शरीरलाई चिसो महसुस गर्न नदिन पर्याप्त पोषण तत्व खानुपर्ने हुन्छ । जाडोमा खाना पनि बढी रुच्ने हुनाले क्यालोरी खपत हुने खानेकुरा छनोट गर्न आवश्यक हुन्छ । शरीरले बढी क्यालोरी खपत गरेको खण्डमा मोटोपनको समस्यासमेत सिर्जना हुनसक्छ । त्यसैले जाडोयाममा कम क्यालोरी भएका खानेकुरा थोरै तर पटक–पटक खाइरहनुपर्छ ।
    शरीरको तापक्रम सन्तुलित राख्न 
    l    जाडो मौसमलाई फलफूलको मौसम पनि भनिन्छ । यतिबेला घाम ताप्दै सुन्तला, अंगुर, अनार, भोगटे आदि भिटामिन सीयुक्त साइट्रस फलफूल खान सकिन्छ । फलफूलको सेवनले शरीरमा नयाँ ऊर्जा उत्पन्न गर्छ भने छालालाई चम्किलो बनाउने, रेटिनाको कार्यक्षमता बढाउने काम गर्छ । साइट्रस फलफूलमा पाइने हेस्पेरेडिन तत्वले शरीरका खराब कोलेस्टेरोललाई कम गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने कामसमेत गर्छ ।
    l    हरियो साग सबै मौसमको सुपर हिरो तरकारी हो । कतिपयमा जाडो मौसममा साँझपख सागसब्जी खाँदा सर्दी, रुघाखोकी लाग्छ भन्ने अन्धविश्वास छ, तर यो गलत हो । भिटामिन ए तथा केयुक्त सागले शरीरलाई धेरै फाइदा पुर्‍याउँछ । जाडोमा विशेषगरी मेथी, बेथे, पालक तथा तोरीेको साग, ब्रोकाउली एवं धनियाँ खानु उपयुक्त हुन्छ ।
    l    भिटामिन डी तथा ईको प्रमुख स्रोत अण्डापूरक प्रोटिन भएको खाद्यान्न वस्तु हो । अण्डाको पहेंलो भागबाट प्रशस्त भिटामिन डी प्राप्त हुने भएकाले जाडो मौसममा लाग्ने खोकी तथा छातीको संक्रमणबाट जोगिन सकिन्छ । तरकारीको तातो सुप, मसरुम सुप, चिकेन सुप, गोलभेंडा, गेडागुडीको झोल आदि शरीरलाई न्यानो बनाउने खानेकुरा हुन् । यसका साथै जाडो मौसममा शरीरलाई तागत दिने खाना खानुपर्छ । तातो सुप तथा झोल खानेकुराले शरीरको तापक्रम सामान्य बनाउन सहयोग गर्नुका साथै स्फुर्तिसमेत बढाउँछ यसले रुघा लगाउने भाइरसको संक्रमणलाई निर्मूल पारेर न्यानो महसुस गराउँछ ।
    l    जाडो मौसममा अदुवा, लसुन, दालचिनी,     बेसार, ल्वाङ, मरिच आदि मसला प्रयोग गर्ने हो भने त्यसले शरीरलाई तातो राख्नुका साथै सर्दी एवं रुघालाई टाढा राख्न मद्दत पुर्‍याउँछ । ज्वानोको रस, अदुवाको चिया, बेसार, दालचिनी, मह तथा ल्वाङ मनतातो पानीमा दैनिक बिहान वा बेलुकी प्रयोग गर्दा टन्सिल, रुघा, फ्लु, ज्वरो, निमोनियाँजस्ता जटिलताबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।
    l    कार्बोहाइड्रेट तथा प्रोटिनयुक्त मकै, भटमास एवं बाजरालाई भुटेर प्रयोग गर्दा शरीरमा न्यानो महसुस हुन्छ । राजमा, छोला–भटुरा, चना, मटर, क्वाँटी आदिको स्वादले जाडो मौसमलाई थप विशेष बनाउँछन् ।
    l    बेलुकीपख १ गिलास मनतातो दूध, ३–४ दाना काजु, हाडे बदाममा १ चम्चा मह मिसाएर पिउँदा मीठो निद्रा लाग्छ । यसले शरीरलाई न्यानो बनाउनुका साथै जाडोयामको लामो रातमा रगतमा पोषण तत्वको कमी हुन दिँदैन । फलस्वरूप शरीरको तापक्रम सन्तुलित रहन्छ । हाडजोर्नीका बिरामीलाई जाडोयाममा खुट्टा–घुँडा दुख्ने समस्याले बढी सताउँछ । यस्ता बिरामीले क्याल्सियमले भरिपूर्ण दूध, चीज, साल्मोन, प्राउन, अण्डा आदि खानु उपयुक्त हुन्छ ।
    l    सबैले आफ्नो दैनिक मेनुमा माथिका खानेकुरा समावेश गर्नसके शरीरको तापक्रम सन्तुलित राख्न मद्दत गर्नुका साथै नयाँ ऊर्जा एवं जोस थपिन्छ ।

    तपाईलाई यो सामाग्री कस्तो लाग्यो ?
    सुधार गर्नुपर्ने पक्ष भए कमेन्टमा लेख्नुहोस् / मन परेमा जनहितका लागि शेयर गर्नुहोला -धन्यवाद