बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण हो ।
रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखा पर्न सक्दछ ।

प्रमुख चिन्ह-लक्षणहरू:
- ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्नु
- रुघा खोकीको लक्षण चिन्हहरू (नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि जस्ता)
- रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्दछ
दादुरा–रुबेला रोगको भएमा के के जटिलता हुन सक्छ?
- दादुराबाट हुने जटिलताः आँखाको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, न्यूमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण (encephalitis), कम्पन
- रुवेलाबाट हुने जटिलता: हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण (encephalitis), गर्भपतन हुने वा मृत शिशु जन्मने, जन्मदै हुने विकलाङ्ग (CRS– अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति आदी), रगत जम्ने क्षमतामा कमि (रक्तस्राव) आदि
यस्ता जटिलताको कारण मृत्यु समेत हुन सक्छ ।
दादुरा–रुबेला रोगवाट बच्ने एक मात्र उपाय दादुरा–रुबेला विरुद्धको खोप लिनु नै हो ।
दादुरा रुबेला रोग लागे पछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताकोे उपचार गर्नु पर्दछ । यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्य रुपमा खुवाउनु पर्दछ ।
त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ ।

दादुरा-रुबेला खोप अभियान २०७६/७७
नेपाल सरकारले आगामी फागुन र चैत महिनामा दादुरा रुवेला खोप अभियान शुरु गर्दैछ ।

यदि सबैै बालबालिका ९ र १५ महिना गरी दाुदरा–रुबेलाको गुणस्तरीय खोपको दुई मात्रा दिएमा यो रोग पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिन्छ । दक्षिण पूर्वी एसियामा सन् २०२३ सम्ममा दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य राखेको साथै नेपाल सरकारले पनि सोहि अनुसार सन् २०२३ सम्ममा दादुरा र रुबेला रोग निवारण गरी सबै बालबालिकाको स्वास्थ्य रक्षा गर्ने लक्ष्य राखेको छ ।
नियमित खोप तथा अभियानहरुमा बालबालिकालाई दादुरा–रुबेला खोप दिईएको कारण हाल नेपालमा विगतमा भन्दा दादुरा रुबेलाको रोगीहरुको दर ९५ प्रतिशत् ले घटेको छ । यद्मपी, अझैसम्म यो रोग हाम्रो देश लगायत विश्वमा पूर्णरुपमा निवारण भई सकेको छैन । हाम्रै देशको केहि ठाउँहरुमा हाल पनि दादुरा र रुबेलाको रोगीहरू देखा परिरहेको कारण यो रोगको संक्रमण फैलन सक्ने सम्भावना अझै रहन्छ ।
दादुरा–रुबेला खोप लगायत अन्य खोपहरू विश्व स्वास्थ्य संगठनबाट गुणस्तरीयता प्रमाणिकरण भई नेपालको राष्ट्रिय नियमन निकाय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता भए पछि मात्र उपलब्ध हुन्छन् । नेपाल सरकारबाट निशुल्क उपलब्ध हुने यी खोपहरू सुरक्षित, गुणस्तरीय र प्रभावकारी छन् ।
यदि बालबालिकाहरुलाई ९ र १५ महिनामा नियमित दादुरा रुबेला खोपको २ मात्रा र साथै अभियानमा दिने खोप पुरा गराएमा लामो समय सम्म साथै जिवनभर पनि दादुरा रुबेला रोगबाट सुरक्षित हुनेछन् ।

यसबाट बालबालिकालाई दादुरा–रुबेला रोगबाट सुरक्षित हुन थप क्षमता शक्ति विकास हुन्छ र बालबालिकाहरु पूर्ण रुपमा यो रोगबाट सुरक्षित हुन्छन् ।
रोग र खोप अभियान बारेमा थप जिज्ञासा र समाधान

यो अभियानमा बालबालिकालाई दादुरा–रुबेला खोप कहाँ लगेर लगाउनु पर्दछ?सबैलाई पायक पर्ने स्थान, स्वास्थ्य संस्थामा वा वडा भित्रका विभिन्न स्थानहरुमा तोकिएको मितिमा खोपकेन्द्र स्थापना गरीएको हुन्छ । अभियान संचालन हुने मितिमा आफुलाई पायक पर्ने नजिकैको खोप केन्द्रमा बालबालिकालाई लगी खोप लगाउनु पर्दछ । कुने कारणले उक्त दिन खोप लगाउन छुट भएमा अभियान भित्रमा नजिकैको जुनसुकै केन्द्रमा लगेर खोप लगाउनै पर्दछ । |

अभियानमा खोप लगाए पछि नियमित खोपमा दादुरा–रुबेला खोप दिनु पर्छ?पर्छ । यो अभियानमा दिईएको दादुरा–रुबेला खोपको पुरक (थप) मात्रा हो । यो अभियानमा खोप लगाएता पनि नियमित खोपमा उपलब्ध हुने दादुरा–रुबेला खोप लगाएत ११ वटा रोग विरुद्धको खोपहरु १५ महिना सम्म तालिका अनुसार अनिवार्य लगाउनै पर्दछ । केहि गरी नियमित खोप छुटी हाले पनि सके सम्म छिटो (२४ महिना भित्र) पुरा गर्ने पर्छ । |

खोप लगाए पछि बालबालिकामा के कस्ता असरहरू देखापर्न सक्दछन् ?यो खोप लगाए पछि अन्य खोपहरु जस्तै निम्न असरहरू देखा पर्न सक्छन्ः हल्का ज्वरो आउन सक्ने (२४ घण्टासम्म); सूई लगाएको ठाउँमा केहि दुख्ने र सुन्निन सक्ने; खोप लगाएको केहि बालबालिकामा १ हप्ता पछि दादुरा जस्तै विमिरा देखा पर्न सक्ने |
यी रोगहरू कसरी सर्दछन् ?दादुरा-रुबेलाको भाईरस मानिसमा मात्र सर्दछ । यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटिमा रही वृद्धि हुने र स्वाश नलि एवं अरु भित्रि अंगहरुमा संक्रमण गर्दछ । दादुरा–रुबेला दुवै रोग संक्रामक (रोग लागेको) व्यक्तिले खोक्दा, हाछिंञ्यु गर्दा निस्कने छिटा बाट एक व्यक्ति बाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ । |
यो खोप कसैले घरमै आएर पनि दिन्छन् ?दिदैनन् । यो खोप संवेदनशिल भएको र व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्ने (जस्तै खोले पछि यसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान मिल्दैन) भएकोले तोकिएको केन्द्र र समयमा मात्र दिईन्छ । तसर्थ बालबालिकालाई दादुरा-रुबेला खोप लगाउन आफुलाई पायक पर्ने केन्द्र र तोकिएको समयमा लैजानु पर्दछ । |
कुन कुन अवस्थामा यो खोप दिन हुदैन?पहिला दादुरा खोप लगाउँदा गम्भिर प्रकारको असर देखा परेको भएमा; एड्सका लक्षणहरु देखा परेको भएमा; उच्च ज्वरो आएको वा सिकिस्त विरामी भएको बेलामा (तर विरामी ठीक भईसकेपछि यो खोप दिनु पर्दछ); प्रतिरोधात्मक शक्ति कम गराउने रोग वा उपचार र औषधीप्रयोग गरीरहेको अवस्था |
श्रोत ;युनिसेफ
थप जानकारीका लागि विश्व स्वास्थ्य संगठनको वेबसाइट हेर्नुहोस् ।