नयाँ स्वास्थ्य मन्त्री लाई जनस्वास्थ्य अधिकृतको ६ बुदे खुला पत्र !

  • माननीय मन्त्री ज्यू, हाल म अमेरिको एक प्रसिद्ध एल विश्वविद्यालयमा स्वास्थ्य नीति विषय अध्ययन गर्दैछु। पेसाले म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत जनस्वाथ्य अधिकृत पदमा कार्यरत छु। यद्यपि, हाल म अध्ययन विदामा छु। मैले दुर्गम भेगमा र काठमाडौंमा बसेर करिब ६ वर्ष सरकारी सेवामा रहेँ। हाल आएर अमेरिका र विश्वको स्वास्थ्यलाई वृहत रुपमा अध्ययन गरिरहेको छु। यही ज्ञानका आधारमा हजुरले प्राथमिकतामा राख्नुपर्ने ६ कार्यहरु व्याख्या गर्ने जमर्को गरेको छु। समय मिलेमा अध्ययन गर्नुहुनेछ र केही भए पहलकदमी चाल्नुहुनेछ भन्ने आशा छ।
    तपाईंसमक्ष एकातर्फ दुई तिहाइको सरकारले यसअघि स्वास्थ्य मन्त्रालयमा पाएको नेतृत्वको सर्वव्यापी आलोचनालाई कम गर्ने चुनौती छ भने अर्कोतर्फ आमजनता र सरोकारवालाहरूमा नयाँ नेतृत्वप्रतिको बढ्दो आशालाई सार्थक बनाउनु पनि छ।
    कानुन मन्त्रालयबाट कानुनको अनुभव संगालेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आउनुभएको हुँदा कानुन तथा नीति नियमहरूले स्वास्थ्यमा ल्याएका र ल्याउन सक्ने सुधारका बारेमा मैले व्याख्या गरे भने त्यो अतिशयोक्ति हुन जान्छ।
    १‍. प्राथमिकता निर्धारणः तपाईं करिब ५२००० महिला स्वास्थ्य स्वयंसेविका र २७००० भन्दा बढी स्वास्थ्यकर्मीहरूको अभिभावक र करिब ३ करोड नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सक्ने नेतृत्वमा भएको हुँदा के कुरालाई प्राथमिकतामा राख्ने भन्ने अन्योल हुन सक्छ, जुन स्वभाविक हो। तपाईं अहिले विफ्रिङ अवधिमा हुनु हुन्छ।
    स्वास्थ्य क्षेत्र बुझ्न केही समय लाग्न सक्छ। स्वास्थ्य आफैंमा एउटा बृहत् विषय हो जसले जनताको समस्या तत्काल समाधान र दीर्घकालीन रुपमा राष्ट्रको विकासमा टेवा पुर्‍याउने क्षमता राख्दछ। स्वास्थ्य नीतिमा मुख्यतया: चारवटा अवयव महत्वपूर्ण हुन्छन्। अधिकार, बजार, समुदाय र व्यावसायिकता।
    यी चारवटा अवयवहरूमध्ये अहिलेको समयमा कुन कुरालाई बढी प्राथमिकतामा राखेर अघि बढ्ने हो त्यो कुराका सन्दर्भमा जनस्वास्थ्यका विज्ञहरुविच छलफल गरेर अघि बढ्नु एकदमै आवश्यक छ।
    २. संविधानको धारा ३५ मा उल्लेखित जनताको स्वास्थ्यसम्बन्धी अधिकार : अमेरिका जस्तो विकसित देशमा त स्वास्थ्य सेवालाई मौलिक अधिकारको रुपमा नरहेको अवस्थामा नेपालको संविधानले यसलाई मौलिकहकमा राख्न सफल हुनु आफैंमा एउटा ठूलो फड्को भएता पनि यसको कार्यान्वयनको पाटो एकदमै चुनौतीको रुपमा रहेको छ।
    जनताहरू सचेत हुँदै गएपछि आधारभूत स्वास्थ्य सेवा सहज तरिकाले सरकारले उपलब्ध गराउन नसकेको भनी सरकारविरुद्ध मुद्दा दायर गर्न सक्ने कुरालाई नकार्न सकिँदैन। आधारभूत स्वास्थ्य सेवाको प्याकेज तयार भइसकेको अवस्थामा अब यसलाई कसरी गुणस्तरीय र उपलब्धताको सुनिश्चितता गर्न सकिन्छ भन्ने बारेमा रणनीतिक तवरले योजनाको कार्यावयन गर्नु तपाईंको लागि ठूलो चुनौती हो।
    ३. स्वास्थ्यकर्मीको समायोजन र रिक्त स्थानमा यथाशीघ्र पदपूर्ति : संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सम्पन्न भएको धोषणा गरे पनि स्वास्थ्य क्षेत्रमा अझै धेरै कर्मचारी समायोजनको अन्न्योलमा रहेको हुँदा यो विषयलाई जति सक्दो चाँडो टुंगोमा लगाउनु अहिलेको टड्कारो आवश्यकता हो।
    समायोजनले कतिपय स्वास्थ्य संस्थाहरू रिक्त हुन गएको विषयलाई संवेदनशील रुपमा लिएर हाललाई करारमा नियुत्तिको पहल गर्ने अल्पकालीन समाधान हो भने यथासक्य चाँडो संघीय लोकसेवा आयोग र प्रादेशिक लोकसेवा आयोगमार्फत् विशेष पदपूर्तिको लागि पहल गरिनु दिगो समाधान हो।
    ४. संघ, प्रदेश र स्थानीय सरकारको बीचमा स्वास्थ्यसम्बन्धी विषयहरूमा समन्वय : देश संघीयतामा रुपान्तरण भइसकेको छ। संघ, प्रदेश र स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रको अधिकार पनि प्रष्ट भइसकेको भएता पनि संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा दरार देखिँदै गएको छ। यी तीन तहहरूको समन्यवयको खाकाको निर्माण र कार्यान्वयन, निरन्तर प्रगतिहरूको समीक्षा र त्यसका आधारमा कार्यक्रम तय गर्दै अगाडि बढ्न सक्नु अर्को चुनौती हो। त्यसमाथि प्रदेश अन्तर्गत रहेका जिल्ला स्वास्थ्य कार्यालयहरू र स्थानीय तह बीचको समन्वयको विषयमा आइरहेको चुनौती र भविष्यमा देखा पर्नसक्ने समस्याहरूको आंकलन गरी समाधानको उपाय निकाल्नु अत्यन्त आवश्यक छ।
    ५. स्वास्थ्य बिमा कार्यक्रमको गुणात्मक विस्तार : अझै पनि दुर्गमा भेगमा रहेका अस्पतालहरूमा दिइने स्वास्थ्य सेवाको उपलब्धताको सुनिश्चितता नहुनु र भएको स्थानमा पनि आमजनताको विश्वास नभएको कारणले सहरका मंहगा निजी अस्पतालहरूमा धाउने प्रचलन कायम नै छ। जसले गर्दा स्वास्थ्यमा व्यक्तिको खल्तीबाट हुने खर्च कम हुन सकिरहेको छैन। विश्व स्वास्थ्य संगठनले सर्वव्यापी स्वास्थ्यको धारणालाई सफल बनाउनका लागि सुझाएको स्वास्थ्य बिमा कार्यक्रम नेपालमा कार्यान्वयन भएको करिब ४ वर्ष पुगेता पनि हालसम्म देशभरि कभरेज नहुनु, कभरेज भएका स्थानमा निरन्तरता नहुनु, गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता नहुनु अनि सरकारी र गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई स्वास्थ्य बिमातर्फ आकर्षित गर्न नसक्नु लगायतका धेरै चुनौती छन्। यो विषयलाई गम्भीरताका साथ लिएमा बाँकी धेरै समस्याहरू समाधान गर्न सहज हुनेछ।
    ६. खोजमा आधारित जनस्वास्थ्य कार्यक्रमहरूलाई प्राथमिकता : नेपालमा सञ्चालन हुने धेरैजसो कार्यक्रम कतिपय सीमित सरोकारवालाहरूको पहलमा सुरु हुन्छन् भन्ने कुरालाई धेरै हदसम्म नकार्न सकिँदैन। हामी कार्यक्रम तथ्यहरूको आधारमा भन्दा वृद्धिवादको आधारमा निर्माण गरिरहेका हुन्छौं। जसले गर्दा स्वास्थ्यका धेरै समस्या समाधान हुन सकिरहेका छैनन्।
    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले केही अध्ययन तथा खोजहरू गरिरहेको भएता पनि यसको संरचना सानो भएको हुदाँ बद्लिँदो परिप्रेक्ष्यमा यसको प्रदेश र स्थानीय तहमा एकदमै चाँडो यथोचित विस्तार गरिनु एकदमै महत्वपूर्ण छ। कुनै एउटा कार्यक्रमले जनताको जीवनस्तरमा कति सुधार ल्यायो, हामीले त्यो कार्यक्रममा गरेको खर्चको लाभ कति भयो, अनि त्यो कार्यक्रममा खर्च नगरी अर्को कार्यक्रममा खर्च गरेको भए त्यसको नतिजा के हुन सक्थ्यो भन्ने मूल्याकंन नै नगरी नयाँ कार्यक्रम निर्माण र कार्यान्वयन गर्दा स्वास्थ्य क्षेत्रमा हुने खर्चमाथि प्रश्न चिह्न खडा भएको देखिन्छ।
    त्यसैले प्रत्येक कार्यक्रमको खर्चको निरन्तर मूल्याकंन गरिनु आवश्यक छ। विसं २०५१।५२ बाट सुरु भएको स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीले दुई दशकको समय अवधिमा सुधारात्मक परिवर्तन गरे पनि अझै पनि नियमित अभिलेखीकरण र रिपोर्टिङमा आइरहेका समस्याहरू, तथ्यांकको गुणस्तरमा गरिने शंका र ती तथ्याकंहरूको आधारमा योजना निर्माण नहुनु चुनौतीपूर्ण छ।
    अझै पनि स्वास्थ्यकर्मीहरुमा अभिलेख रिपोर्टिङ गर्ने कार्यको महत्वको बारेमा महसुस गराउन नसक्नु हाम्रो प्रणालीको ठूलो समस्या हो।
    अन्त्यमा, सर्ने रोग भन्दा नसर्ने रोगको प्रकोप बढ्दै गएको, बालबालिका तथा महिलाको कुपोषणको विकराल अवस्था, बद्लिँदो परिवेशमा स्वास्थ्यमा पाएका उपलब्धिहरु गुम्न सक्ने जोखिम, नयाँ कार्यक्रमहरू सुरु गर्नुपर्ने चुनौतीहरू लगायत थुप्रै टड्कारा समस्याहरू समाधान गर्नका लागि ‘मल्टिपल टास्क फोर्सेस’हरू निर्माण गरी अघि बढ्नु शोभनीय हुन जान्छ।  मेरो विचारमा मन्त्रालय र यसका अवयवहरूका अनुभव संगालेका कर्मचारीको समूहसित निरन्तर समन्वय गर्दै जानुका साथै स्वास्थ्यका विभिन्न विषयहरुमा भएका स्वतन्त्र विज्ञ तथा प्राज्ञिक वर्गहरूको समूह (थिंक ट्यांक) सित निरन्तर परामर्श र छलफल गरी अघि बढ्नु नै यहाँको लागि उत्तम उपाय हो जस्तो लाग्छ। हजुरलाई कार्यकालको शुभकामना छ।
    -(लेखक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनस्वास्थ्य अधिकृत पदमा कर्यरत रही हाल एल विश्वविद्यालयमा ‘हेल्थ पोलिसी’ अध्ययनरत छन्।)

    ओरिजिनल श्रोत