नेपालमा स्वास्थ्य आपत्कालको घोषणा भए के हुन्छ ?कुन कुन क्षेत्रमा कस्तो प्रभाव रहन्छ ?
स्वास्थ्य आपत्काल लगाएपछि सरकारले सम्पूर्ण स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा लगाउने छ ।

  • निषेधाज्ञामा पनि आशातित रुपमा कोरोना संक्रमण नघटेपछि सरकारले जुनसुकै बेला स्वास्थ्य आपत्काल घोषणा गर्नसक्ने व्यवस्थासहित राष्ट्रपतिबाट अध्यादेश जारी भइसकेको छ ।  

    राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ६ गते जारी गर्नुभएको कोभिड – १९ संकट व्यवस्थापन अध्यादेश अनुसार सरकारले स्वास्थ्य आपत्काल लगाउन सक्छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजन गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले पनि कुनै बेला आपत्काल लाग्न सक्ने संकेत गर्नुभएको छ ।

    जनमासमा पनि स्वास्थ्य आपत्कालप्रति चासो बढेको छ । कोभिड- १९ संकट व्यवस्थापन अध्यादेशले परिकल्पना गरेको स्वास्थ्य आपत्काल घोषणा भएमा के–के हुन्छ भनेर व्याख्या गरेको छ । 

    अध्यादेशमा भनिएको छ, कोभिड १९ को संक्रमणका कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा वा पर्न सक्ने देखिएमा सोको रोकथाम, नियन्त्रण, निदान  उपचारका लागि सरकारले स्वास्थ्य आपत्काल घोषणा गर्न सक्ने छ । स्वास्थ्य आपत्काल लगाएपछि सरकारले सम्पूर्ण स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा लगाउने छ ।

    साथै आवश्यकता अनुसार सरकारको स्वामित्वमा रहेका भौतिक संरचनाहरुलाई पनि संक्रमितको उपचार तथा व्यवस्थापनमा प्रयोग गर्न सक्ने छ ।  
    स्वास्थ्य आपत्काल घोषणा भए सरकारले निम्न काम गर्न सक्छ :
    १.स्वास्थ्य संस्थालाई संक्रमितको निदान र उपचार गर्न लगाउने,

    २.आवश्यकता अनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्ने वा गराउने,

    ३.जुनसुकै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक वा स्वास्थ्यकर्मीलाई कोभिड – १९ को निदान र उपचारको काममा लगाउने,

    ४.नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा प्रचलित कानूनबमोजिम स्थापित शिक्षण संस्था, प्रतिष्ठान, बोर्ड।संस्थान, सरकारी स्वामित्वका कम्पनी वा अन्य सार्वजनिक संस्था वा निकायमा कार्यरत जनशक्ति, सवारी साधन, भवन, संरचना वा अन्य भौतिक साधन कोभिड १९ को रोकथाम,नियन्त्रण निदान र उपचारमा लगाउने,

    ५.आवश्यकता अनुसार सार्वजनिक, निजी, सहकारी, सामदुदायिक वा गैरसरकारी संस्थाबाट उतपदान वितरण वा बिक्री गर्ने औषधि,स्वास्थ्य सामग्री तथा उपकरण नियन्त्रणमा लिई प्रयोग र वितरणको व्यवस्था गर्ने वा गराउने ।  

    आपत्काल हटाउनसक्ने अवस्था
    १.संक्रमणदर घटेमा
    २.स्वास्थ्य संस्थामा ५० प्रतिशतभन्दा बढी शैया खाली भएमा
    ३.संक्रमणको नयाँ भेरियन्ट नदेखिएमा वा अन्य जोखिम विश्लेषणको आधारमा आपत्काल कायम राख्न आवश्यक नदेखिएमा सरकारले आपत्काल हटाउन सक्दछ ।