प्रश्नै प्रश्नको घेरामा कोभीड-१९(कोरोना भाईरस) ब्यबस्थापन ? अस्पतालमा को बस्छ्न स्वास्थ्यकर्मी कि नागरिक ?

  • नेपालमा कति रजिष्टर्ड डाक्टर छन्?
    त्यसमा कति नेपालमा काम गर्दै होलान्?
    त्यसमा कति नन क्लिनिकल (विरामी प्रतक्ष्य नजाँच्ने) होलान्?
    कति मेडिकल बाहेकका अर्थात सर्जरी, स्त्री रोग, ईएनटी, आँखा, छाला, हाडजोर्नी, मानसिक, रेडियोलोजी आदि होलान्?
    कति जना संक्रमित भएर अस्पताल भर्ना छन्? आइसोलेसनमा छन्? क्वारेन्टाइनमा छन्?
    नेपालमा कति रजिष्टर्ड नर्स छन्?
    ती मध्ये कति नेपालमा छन्? कति जना काम गर्दैछन्?
    कति जना संक्रमित भएर अस्पताल भर्ना छन्? आइसोलेसनमा छन्? क्वारेन्टाइनमा छन्?
    भन्न खोजेको,
    अहिलेसम्म सिमित संख्यामा कोरोना सम्भावित र संक्रमित हेर्ने डाक्टर छन्। अबको केही हप्ता र महिनामा ती अलिअली गर्दै आफैं संक्रमित हुँदै जानेछन्। उनीहरु आफैं अस्पताल भर्ना हुनेछन्, कति आइसोलेसनमा बस्नेछन्, कति क्वारान्टाईनमा बस्नेछन्। अनि देशको स्वास्थ्य सेवा कसरी चलाइनेछ? स्वास्थ्य मन्त्रालयले सोचेको छ? त्यो स्तरको सोचेर तयारी गरेको छ?
    एकातिर कोरोनाका विरामी छन्, अर्कोतिर अरु रोगका विरामी पनि पक्कै हुनेछन्। सुगर, प्रेसर, मृगौला रोग, मुटु रोग, पारालाइसिस, क्यान्सर, मानसिक रोग जस्ता दिर्घ समस्या भएकाहरुको नियमित फलोअप, चेकअप, जाँचहरु धेरै अस्पतालका ओपिडि बन्द भएपछी रोकिनेछन्। तिनका समस्याहरु बिस्तारै बढ्दै जानेछन्। यसलाई कसरी बेलैमा address गर्ने भन्ने बारे ती रोगका विशेषज्ञहरुसँग छलफल र आइडिया शेयरिङ र प्लानिङ हुनुपर्छ। गर्भवतीहरुको जाँच, डेलिभरी सेवा, शिशुहरुको स्वास्थ्य सेवा, खोप सेवा पनि प्रभावित हुनेछ। तिनको बारेमा के कस्तो प्लानिङ छ? फलोअपहरुलाई अनलाइन, भाइबर, जुम (zoom) विधीबाट नियमित गराउने हो कि? सामान्य फलोअपको लागि, एउटा दुइटा रिपोर्ट देखाएर थोरै औषधि फेर्नका लागि पनि सयौं किलोमिटर परबाट विशेषज्ञ डाक्टर भेट्न हप्तौं कुर्नुपर्ने, अस्पतालमा भिड गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न यहि बेला शुरुवात गर्ने कि? विभिन्न क्षेत्रले आआफ्नो तर्फबाट ससाना प्रयासहरु नगरेका हैनन्, त्यसलाई अझै संस्थागत र बलियो र भरपर्दो बनाउदै लाने हो कि? केन्द्रका विशेषज्ञ डाक्टरहरुको टिम र पेरिफेरीका जीपी, मेडिकल अफिसर, पारामेडिकल टिम, नर्सिङ टिमलाई मिलाएर दिर्घ रोग, प्रसुती, मानसिक रोगहरुको फलोअपलाई बेलैमा नियमित र सुचारु राख्नुपर्ने देखिन्छ। नत्र भोलि यसको अवस्था झन भयावह हुनेछ। यसको लागि कसले नेतृत्व लिने हो?
    कोरोनाका विरामीलाई अहिले नै अस्पतालमा बेड अभावका कारण धेरैलाई होम आइसोलेसनमा बसाउन थालिएको छ। ती विरामी कसको निगरानीमा बसिरहेका हुन्छन्? तिनलाई कोरोनाको लक्षण देखिन थाल्यो, समस्या बढ्न थाल्यो भने कसलाई भन्ने हो? कुन अस्पताल जाने हो? यो सब कसले मिलाउने हो? होम आइसोलेसनमा बस्दा तिनको नियमित ज्वरो जाँच, समस्या देखिए नदेखिएको बुझ्ने, काउन्सेलिङ गर्ने, सुझाव दिने नियमित हुनुपर्छ। यसको लागि अस्पतालमा राउन्ड लिए जस्तो सिधै सम्पर्कमा आएर जाँच नगरे पनि फोनबाट, भाइरबबाट हरेक दिन अपडेट लिने स्वास्थ्यकर्मी वा डाक्टरले गर्नुपर्छ। यो जिम्मेवारी कुन अस्पताल वा प्रशासन वा जनस्वास्थ्यको भागमा परेको छ? तिनलाई समस्या आए कुन अस्पतालमा कुन एम्बुलेन्समा कसरी लाने भन्ने तालमेलको आवश्यकता पर्छ। नत्र विरामी सबै अस्पताल चाहर्दै अक्सिजन पनि नपाएर बाटैमा मर्न सक्छ। यस्तो घटना भई सकेको छ। यो पनि बेलैमा सोच्नुपर्ने देखिन्छ।
    स्वास्थ्यकर्मी, डाक्टर, नर्सको अभाव अबका केही हप्तामा बढ्दै जाने पक्का छ। किनकी उनीहरु आफैं नै संक्रमित हुनेवाला छन्, क्वारान्टाइनमा बस्नुपर्ने छ। धेरै अस्पतालले दुई समूह बनाएर पालैपालो हप्ता हप्ता ड्युटी गराउन थालेका छन्। त्यसमा एउटा समूह संक्रमित भए सबै क्वारान्टाइनमा जान्छन्, अनि चलिरहेको न्युनतम सेवा झनै खुम्चन्छ। यस्तो बेलामा इमर्जेन्सी सेवा कसरी चलाउने? अरु चाहिएको स्वास्थ्यकर्मी कहाँबाट ल्याउने? मन्त्रालयले सोचेको छ?
    यसको लागि सम्भावित उपायहरु के के हुनसक्छ?
    – स्वास्थ्य क्षेत्र (वा देशकै) को इमर्जेन्सी अवस्था घोषणा गर्ने
    – सरकारी, निजी सबै डाक्टरहरुलाई एउटै टिमको रुपमा मिलाएर खटाउने
    – मेडिकल फिजिसियन बाहेक अन्य फ्याकल्टीका डाक्टरहरुलाई पनि ज्ञान, सीप अनुसार कोभिड, ननकोभिड उपचारमा खटाउने।
    (विदेशमा रिटायर्ड भएका न्युरोलोजिस्टले केही दिने नर्सको तालिम लिएर नर्सको रुपमा ड्युटी गरेको समाचार आएको थियो)
    – चौथो, पाँचौ वर्षका मेडिकल विधार्थीहरुलाई केही दिन, हप्ताको तालिम दिएर नर्स, सामान्य विरामीहरुको मनिटरिङको लागि, मेडिकल अफिसरहरुको अन्डरमा खटाउन सकिन्छ।
    – बिएन, बीएस्सी नर्सिङ, मास्टर्सका विधार्थीहरुलाई पनि खटाउन सकिन्छ।
    – रिटायर्ड डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरुलाई उनीहरुको सीप, क्षमता अनुसार बोलाएर खटाउन सकिन्छ।
    – खटिने स्वास्थ्यकर्मीहरुको प्रोत्साहनका लागि जीवन बीमा, विरामी परे स्वास्थ्य बीमा, सम्भव भएसम्म प्रोत्साहन भत्ता, आवश्यक सुरक्षा सामाग्री सरकारले सबै निजि क्षेत्रसँग मिलेर उपलब्ध गराउनुपर्छ। जो फ्रन्टलाइनमा खटिएका छन् तिनको स्वास्थ्य र जीवनको जिम्मा म लिन्छु भनेर नेतृत्व तह अघि बढ्न सक्नुपर्छ।
    – अब छुट्टाछुट्टै ससाना अस्पतालहरुमा विरामी छर्नु भन्दा एउटा दुइटा ठूलो कोभिड अस्पताल र नन-कोभिड अस्पताल भनेर तोक्नुपर्छ, सबै स्वास्थ्यकर्मीको टिम त्यसरी नै ड्युटीमा खटाउनुपर्छ। डा. हरिश न्यौपाने सरले भन्नुभए जस्तो चितवन मेडिकल कलेजलाई नै कोभिड अस्पतालको रुपमा रुपान्तरण गर्न सकिन्छ, अनि सबै सरकारी, निजि डाक्टर स्वास्थ्यकर्मीको टिमलाई ड्युटी मिलाएर, पालो मिलाएर खटाउन सकिन्छ। पुरानो मेडिकल कलेजलाई नन-कोभिड अस्पताल, भरतपुर सरकारी अस्पताललाई प्रसुती सम्बन्धी मात्र सेवा दिने गरेर कार्य विभाजन गर्न सकिन्छ। अन्य प्राइभेट अस्पतालहरुलाई पनि क्षमता, बेड संख्याका आधारमा जिम्मेवारी दिन सकिन्छ।
    – यसको लागि नेतृत्व तहको दूरदर्शिता र डेडिकेसन चाहिन्छ। समस्या कुन तहसम्म जटिल बन्नसक्छ भन्ने भविष्य देख्न सक्नुपर्छ।
    अब त देशले युद्धको तयारी गरे झैं तयार रहनुपर्छ। जसरी देश युद्धमा होमिदा हरेक नागरिकले आफ्नो तर्फबाट सक्दो योगदान दिन्छ र दिनुपर्छ त्यसरी नै हरेक स्तरमा जिम्मेवारी पूरा गर्न तयार रहनुपर्ने बेला आइसकेको छ। तर यसको लागि लिडरसीप र प्लानिङको जरुरत पर्छ। नेतृत्वमा सरकार र स्वास्थ्य मन्त्रालय रहनुपर्छ, उसको नेतृत्व भरपर्दो र जिम्मेवार हुनुपर्छ। जनता सरकारको र सरकार जनताको भन्ने व्यवहारमा देखिनुपर्छ।
    स्वास्थ्य बाहेकका क्षेत्रका समस्या त आफ्नो ठाउमा छदैछन्। तिनलाई हेर्न पनि सरकार र निजि क्षेत्र नमिलिकन सम्भव छैन।
    चुनौतीले नै आफ्नो क्षमता प्रमाणित गर्ने मौका दिन्छ। कोरोनाले हामी सबैलाई यो मौका दिएको छ। सबै मिलेर यो मौकाको सदुपयोग गरौं।
    धेरैलाई यी कुराले तर्साउन सक्छ। तर स्थिती यहि रहे केही हप्तामा देश यो अवस्थामा जानैपर्ने हुनसक्छ। त्यसैले समय रहदैं बेलैमा तयार रहौं।
    (यो लेख्दै गर्दा मलाई ‘Game of thrones’ टिभी सिरियलमा जिउदा र मरेकाहरुबीचको अन्तिम युद्दको तयारीको याद आयो, जहाँ व्यक्तिगत विभिन्नता, देश, समुदाय, स्वार्थ नभनी जिउदाहरु मरेकाहरुको असंख्य white walker सेनासँग मिलेर लडेका थिए र जितेका पनि थिए।)श्रोत : डा समीर लामाको फेसबुक वाल