बुढेसकालमा डिमेन्सिया ! कस्ता देखिन्छ लक्षण र कसरी गर्ने उपचार ?

  • काठमाडौं : बुढेसकाल व्यतित गरिरहनुभएका बुवाआमाले धेरै कुरा बिर्सन थाल्नुभएको छ ? बाहिर निस्केपछि घर पहिचान गर्न पनि धौधौ हुने गरेको छ ? यस खालको समस्या देखा परेको छ भने त्यो डिमेन्सिया अर्थात् बिर्सने रोग हुन सक्छ।
    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डा. निदेश सापकोटाका अनुसार मस्तिष्कमा लाग्ने जटिल खालको समस्या नै डिमेन्सिया हो। यो वृद्धावस्थामा देखा पर्छ। डिमेन्सियालाई बिर्सने समस्याका रूपमा लिइन्छ। सामान्यतयाः ६० वर्ष नाघेका वृद्धवृद्धालाई डिमेन्सिया हुने गरेको छ। डिमेन्सियालाई अल्जाइमरका रूपमा बुझ्ने गरिन्छ। अल्जाइमरका कारण डिमेन्सिया हुन्छ। मस्तिष्कमा रक्तसञ्चार सुचारु हुन नसके कोषिकामा असर गर्छ। यसलाई भास्कुलर डिमेन्सिया भनिने डा. सापकोटा बताउँछन्।
    त्यसबाहेक अन्य कारणले पनि डिमेन्सिया हुन्छ। डिमेन्सिया भएपछि निको हुँदैन। यो समस्या भएको व्यक्तिलाई आफू समस्यामा भएको महसुस पनि नहुने डा. सापकोटा बताउँछन्। ‘कोषिकामा खराब प्रोटिन जम्मा भएर स्नायु प्रणालीलाई ध्वस्त पार्छ। त्यसपछि डिमेन्सियाले सताउन थाल्छ’, उनले भने।
    लक्षण
    – स्मरण शक्तिमा ह्रास आउने
    – शंकालु स्वभाव हुने
    – नयाँ कुरा सिक्न नसक्ने
    – हरेक कुरा भुल्दै जाने
    – छिमेकीलाई बिर्सने
    – राखेको सामान भेट्न नसक्ने
    – सही तथा गलत छुट्ट्याउन नसक्ने
    – बोल्ने क्रममा शब्द नपाउने
    – परिवारका सदस्य पनि नचिन्ने
     
    मानव मस्तिष्कमा अनेकौं कोषिका हुन्छन्। मस्तिष्कमा रहेका कोषिका नष्ट भएपछि डिमेन्सियाको समस्याले सताउने डा. सापकोटा बताउँछन्। ‘डिमेन्सियाले ग्रस्त पारेको व्यक्ति जिउँदो लाससरह हुन्छ। स्याहारसुसार गर्नका लागि आफन्तलाई पनि सास्ती हुन्छ’, डा. सापकोटाले भने। डिमेन्सियाबाट बेलायतकी पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचर, भारतका पूर्वमन्त्री जर्ज फर्नान्डिस र नेपालकी पूर्व उपप्रधानमन्त्री शैलजा आचार्यलाई समेत डिमेन्सिया भएको थियो।
     
    कोषिकामा क्षति 
    वृद्धावस्थामा मस्तिष्कमा रहेका कोषिकाको संख्यामा ह्रास आउँछ। रक्तसञ्चारमा समेत कमी हुँदा कोषिका मर्न पुग्छन्। डा. सापकोटा भन्छन्, ‘दिमागको कोषिकाभित्र खराब प्रोटिन उत्पत्ति भएर जम्न पुग्छ। यो लट्टा परेको केसजस्तै देखिन्छ। यसले स्नायु कोषिकालाई क्षति तुल्याउँछ। कालान्तरमा डिमेन्सिया हुन्छ।’ ८५ वर्षमाथिका झन्डै ५० प्रतिशतलाई डिमेन्सिया लाग्ने सम्भावना हुन्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अल्जाइमर डिजिज इन्टरनेसनलले संयुक्त रूपमा तयार पारेको रिपोर्टअनुसार नेपालमा कम्तीमा पनि ७८ हजार डिमेन्सियाका बिरामी हुन सक्ने अनुमान छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक बहिरंग विभागमा आएका ६० वर्ष नाघेका ११ प्रतिशतमा डिमेन्सिया पाइएको डा. सापकोटाले जानकारी दिए। उनका अनुसार विस्तृत अध्ययन गर्ने हो भने कम्तीमा पनि १ लाख ३५ हजार व्यक्ति डिमेन्सियाबाट प्रभावित छन्।
     

    रोकथाम

    डिमेन्सियाको समस्यालाई रोकथाम गर्न सकिन्छ। यसका लागि खानपान र जीवनशैली परिवर्तन गर्नुपर्छ। स्वस्थ मस्तिष्कका लागि मुटुलाई स्वस्थ राख्नु आवश्यक छ। मुटुसम्बन्धी समस्या भएका व्यक्तिलाई भास्कुलर डिमेन्सियाको जोखिम हुने डा. सापकोटा बताउँछन्। त्यसैले रक्तचाप नियमित जाँच गर्ने र मुटुलाई स्वस्थ राख्नुपर्छ।
    त्यस्तै, खानपानमा सजगता अपनाएको अवस्थमा पनि डिमेन्सिया हुने डर हुन्छ। डा. सापकोटा भन्छन्, ‘ माछा सेवन गर्ने व्यक्तिलाई डिमेन्सिया हुने जोखिम न्यून हुन्छ।’ त्यस्तै भातभन्दा धेरै तरकारी खानुपर्छ। ब्रोकाउली, फलफूल, सागसब्जी, ओखर, टुसा पलाएको गेडागुडी नियमित सेवन गर्नुपर्ने डा. सापकोटा सुझाव दिन्छन्।
    उपचार
    – म्युजिक सुन्ने
    – डान्स गर्ने
    – हँसाउने
    – व्यायाम गर्ने
    – सामाजिक कार्यमा संलग्न हुने

    श्रोत : अन्नपूर्ण पोस्ट