भारत सरकारले कोरोनाका बिरामीको उपचारका लागि डेक्सामेथोन प्रयोगको अनुमति दियो /

  • भारत सरकारले कोरोना संक्रमित बिरामीको उपचारमा डेक्सामेथोन औषधि प्रयोगको अनुमति दिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का बिरामी उपचारको नयाँ प्रोटोकल जारी गर्दै मेथाइलप्रिडनिसोलोनको विकल्पमा डेक्सामेथोन प्रयोग गर्न अनुमति प्रदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
    भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकामा भनिएको छ– यो (डेक्सामेथोन) औषधि कोरोनाका मध्यम र गम्भीर बिरामीलाई दिन सकिन्छ, जसलाई अक्सिजनको आवश्यकता पर्छ ।’
    केही दिनअघि बेलायतका वैज्ञानिकले आइसियू र भेन्टिलेटरमा उपचार गराइरहेका कोरोना संक्रमितका लागि यो औषधि प्रभावकारी हुने निष्कर्ष निकालेका थिए । यसबाट कोरोनाका बिरामीमध्ये एकतिहाइलाई मृत्युबाट बचाउन सकिने अध्ययनले देखाएको छ ।