यसरी गर्न सकिन्छ सामान्य डेङुको घरमै उपचार !

  • डेंगुको लक्षणसहित सामान्य ज्वरो आयो भने नआत्तिई चिकित्साकर्मीको सल्लाहमा घरमै स्वास्थ्य लाभ गर्न सकिन्छ,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार ‘जोखिम समूह’ मा रहेकाहरूले भने हालको डेंगुको प्रकोप देखिएको अवस्थामा सामान्य ज्वरो देखिए पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । यो जोखिम समूहअन्तर्गत बच्चा, बूढापाका, गर्भवती, दीर्घरोगी, पेप्टिक अल्सर भएका, मोटोपना भएका, रोग प्रतिरोधक क्षमता कम भएकाहरू पर्छन् ।
    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुसार यो संक्रमण फ्लुजस्तो बिरामीका कारण बन्छ र कहिलेकाहीँ सिभियर डेंगुजस्तो सम्भावित घातक जटिलतामा विकसित हुन सक्छ । सामान्य डेंगु र सिभियर डेंगुका लागि कुनै विशिष्ट उपचार नभए पनि चाँडै संक्रमण पत्ता लगाउनाले र उचित चिकित्सकीय रेखदेखले यसबाट हुने मृत्युदर एक प्रतिशतभन्दा तल झार्न सकिन्छ ।
    उचित चिकित्सकीय रेखदेख, स्वास्थ्य सेवाको सुविधामा विस्तारले गर्दा हाल विश्वभरि नै डेंगु संक्रमणले हुने मृत्यु दर घट्दो छ । तर डेंगुको लामखुट्टे नियन्त्रणमा नरहेकाले रोगको प्रसार भने बढ्दो अवस्थामा छ । हाल प्रकोपकै रूपमा डेंगु देखिएकाले साधारण ज्वरो आउँदा ज्वरो/दुखाइ कम गर्न सिटामोल उपयोग गर्नुको साथै एस्प्रिन, ब्रुफिन जस्ता औषधि सेवन नगर्न टेकु अस्पतालकै डा.शेरबहादुर पुन आग्रह गर्छन् ।
    एउटा सामान्य स्वस्थ व्यक्तिलाई डेंगुको लक्षणसहित सामान्य ज्वरो भए घरमै प्रशस्त पोसिलो झोल पदार्थ सेवनसँगै आराम गर्न सकिने औंल्याउँदै डा.पुन भन्छन्, ‘कडा र फरक प्रकारको ज्वरो आयो भने तुरुन्त अस्पतालमा जचाउने र चिकित्सकीय सल्लाहअनुसार गर्नुपर्छ ।’ तर हाल डेंगुको जोखिम समूहमा रहेका बच्चा, बूढापाका, दीर्घरोगी, गर्भवती, पेप्टिक अल्सर, मोटोपना भएकालाई ज्वरो देखिए विशेष ख्याल गर्नुपर्नेसमेत उनी बताउँछन् ।
    यस्तै, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश शाहले तीन/चार दिनसम्म पनि ज्वरो कम नभए, वान्ता आए, शरीरमा फोका आए, जीउ, हाडजोर्नी साह्रै दुख्ने भए चिकित्सकको सल्लाह लिनुपर्ने बताए ।
     
    घरमै स्वास्थ्य लाभ गर्दा 
    परिवारमा कसैलाई सामान्य डेंगु भएमा चिकित्सकको सल्लाहमा घरमै स्याहार गर्न सकिन्छ । तर यस्तो समय बिरामीमा देखिने लक्षणहरूलाई सावधानीपूर्वक निगरानी भने गर्नुपर्ने हुन्छ किनभने डेंगु तेस्रो र सातौं दिनको बीचमा जतिखेर ज्वरो हट्छ, छिट्टै गम्भीर रूपसमेत लिन सक्छ ।
    अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार डेंगु बिरामीहरूलाई ज्वरो हुँदाताका सकेसम्म आराम गर्नुपर्छ । यस्तै, उच्च ज्वरोलार्ई नियन्त्रणमा राख्नुपर्छ । उच्च ज्वरो नियन्त्रणका लागि ‘इबुब्रुफेन’, ‘एस्प्रिन’ भएका औषधि लिन हुँदैन । ज्वरो कम गर्न आवश्यकता भए हरेक ६ घण्टामा ‘पारासिटामोल’ औषधि एक दिनमा अधिकतम ४ मात्रा दिन सकिन्छ । यदि उच्च ज्वरो रही नै रहे टाउकोमा पानीपट्टी वा कपडालाई पानीले भिजाएर पुनः निचोरेर बिरामीको शरीरमा पुछ्न सकिन्छ ।
    सीडीसीका अनुसार बिरामीको शरीरमा पानीको कमी हुन दिनुहुन्न । शरीरमा पानीको कमी भएको लक्षणहरूमा निरन्तर ध्यान दिनुपर्छ किनभने यो अवस्थामा ज्वरो, वान्ता वा पर्याप्त तरल पदार्थ सेवन नगरे बिरामीको शरीरको तरल पदार्थमा धेरै मात्रामा कमी आउँछ । यसैले डेंगुको बिरामीलाई प्रशस्त मात्रामा तरल पदार्थ र पानी दिनुपर्छ ।
    डेंगु बिरामीको ज्वरो गइसके पनि यो चरण केही बिरामीका लागि खतरनाक हुन सक्छ । घरमा भएको बिरामीको जसरी ज्वरो समाप्त हुन्छ, त्यसमा देखिन सक्ने चेतावनीको संकेतहरूको निगरानी गर्नुपर्ने सीडीसीले जनाएको छ । डेंगुको लक्षण देखिएको ३ देखि ७ दिनपछि ज्वरो घटेपछि चेतावनीको संकेत हेर्नुपर्छ ।
    यी चेतावनीको संकेतअन्तर्गत बिरामीलाई गम्भीर पेट दुखाइ वा निरन्तर वान्ता, छालामा रातो बिमिरा वा प्याच, नाक र गिजाबाट रक्त श्राव, रगतसहितको वान्ता वा दिसामा पनि रगत, तन्द्रा वा चिटचिडाहट, रूखो, चिसो छाला देखिए तुरुन्त अस्पताल पुर्‍याउनुपर्छ ।
    घरमा भएका डेंगु संक्रमितलाई लामखुट्टेले टोकेर संक्रमित भई अन्य व्यक्तिलाई समेत रोग सार्न सक्छ । यसैले बिरामीलाई झुलभित्र सुताउनुपर्छ । अन्य स्वस्थ व्यक्तिलाई लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनुपर्छ । घरमा भएको लामुखुट्टेलाई मार्नुको साथै पानी जमेको ठाउँ सफा गर्नुपर्छ ।
    सातामा एकपटक घरको निरीक्षण गरौं 
    डेंगुको लामखुट्टे मात्र सफा पानीमा बस्छ । यदि सफा पानी केही दिनका लागि जम्मा भएको छ र त्यसलाई फेरिएन भने त्यो सफा पानीमा डेंगुको फुल उत्पन्न हुन्छ । फुल ८ देखि १० दिनभित्र डेंगु फैलाउने लामखुट्टेमा परिवर्तित हुन्छन् । हामीले ८ दिनभन्दा अघि नै त्यो पानीलाई परिवर्तन गरेर त्यो फुललाई नष्ट गर्दा डेंगु फैलाउने लामखुट्टे उत्पन्न हुँदैनन् ।
    यस्तो प्रक्रिया दिनहुँ गरे सबैभन्दा राम्रो तर अधिकतम सातामा एकपटक बिदाको दिन करिब १०–१५ मिनट घर र छेउछाउलाई अवलोकन गरेर गमला, बट्टा, खाल्डाखुल्डी आदिमा सफा पानी जमेको भए यसलाई हटाउँदा वा फेर्दा डेंगु नियन्त्रणमा धेरै सकारात्मक पाइला हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका वरिष्ठ किट विज्ञानका डा. बीएन नागपाल बताउँछन् ।
    यस्तै, घर छेउको खाल्डाखुल्डीको पानी हटाउन नसके त्यसमा मट्टितेल, डिजेल आदि हाल्दा लामखुट्टे बाँच्न सक्दैनन् । यो लामखुट्टेले एक पटकमा ८० देखि १४० फुल एक ठाउँमा नभई थुप्रै पानी जमेको स–सानो स्थानमा पार्ने गरेको छ । यसैले यसको प्रजनन् स्थल एक ठाउँमा मात्र नभएर थुप्रै ठाउँमा हुँदा खोजेर मास्दासमेत केही फुल, लार्भा आदि जीवित रहने सम्भावना कायमै रहन्छ ।
    अझ डेंगु सार्ने लामखुट्टेले नाली, फोहोर, ठूलो तलाउ आदिमा नभए मुख्य रूपमा घरभित्रै वा बाहिर भएको बट्टा, गमला, टायर आदि पानी भएको ठाउँमा फुल पार्छ । एक वर्षभन्दा बढी समयसम्म जीवित रहन सक्ने यो फुल पानीको सम्पर्कमा आउना साथ लामखुट्टे उत्पन्न हुन्छ ।
    यसैले चलाख डेंगु लामखुट्टेलार्ई जित्न हरेक साता एक घण्टा घर र छेउछाउमा रहेको राम्ररी नछोपिएको पानीलाई खाली गर्नुपर्ने औंल्याउँदै डा.नागपालले भनेका छन्, ‘यही प्रक्रिया अपनाएर बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका मुलुक यो रोगविरुद्घको लडाइँ जितिरहेका छन् भने तपाईंहरू किन सक्नुहुन्न ? ’
    एडिस एजेप्टी लामखुट्टे
    मुलुकमा डेंगु फैलाउने मुख्य रूपमा जिम्मेवार मानिएको एडिस लामखुट्टे चारैतिर छ । यो प्रजाति मात्र त्यो वातावरणमा हुर्किन सक्छन्, जहाँको तापक्रम १६ डिग्री सेल्सियसभन्दा बढी हुन्छ ।
    हामीले पोथी एडिस एजेप्टी लामखुट्टेलाई सजिलै चिन्न सक्छौं । यसको शरीरमा खैरा धर्सा हुन्छन् । यो धेरै बढी उचाइसम्म उड्न सक्दैन ।
    इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल इन्सपेक्टर उत्तमराज प्याकुरेलका अनुसार, वयस्क लामखुट्टेको आयु करिब एक महिनाको हुन्छ । यो लामखुट्टेले उज्यालोमा र दिउँसो बढी टोक्ने हुनाले रगत चुस्नका लागि बाधा पुग्ने हुँदा पूरा रगत खान धेरैजनालाई टोक्ने गरेको छ ।
    यो लामखुट्टे सफा पानी जमेको ठाउँ जस्तो बाटा, टायर, बाल्टिन, गमला, एयर कन्डिसनर, थोरैभन्दा थोरै पानी जम्ने बिर्को, पानी जम्मा भएको खुला ट्यांकीमा फुल पारेर आफ्नो वंशवृद्घि गर्छ ।
    तर यसको फुल पार्ने प्रक्रिया पनि वंशवृद्घिमा सघाउने खालको अनौठो रहेको छ । यसले सफा पानी जमेको एउटै ठाउँमा सबै फुल पार्दैन । थोरैथोरै गरी तीन–चार ठाउँमा फुल पार्छ ।
    वयस्क लामखुट्टेले आफ्नो जीवनकालमा हरेक ३–३ दिनमा ७ देखि ९ पटक गरी एकपटकमा एक सयदेखि डेढ सयसम्म फुल पार्छ । संक्रमित लामखुट्टेले पार्ने फुलबाट उत्पन्न सबै लामखुट्टे संक्रमित अर्थात् डेंगु रोग सार्ने क्षमताका हुन्छन् ।
    यो लामखुट्टै धेरै टाढासम्म जान सक्दैन । यो एक पटकमा एक सय मिटरदेखि आधा किलोमिटर टाढासम्म उड्न सक्छ । तर यस्तो उडाइमा हावाको बहावले साथ दिए लामखुट्टे यसभन्दा टाढासमेत पुग्न सक्ने सम्भावना हुन्छ । यो लामखुट्टेको वृद्घि र विकास घरवरिपरि वा करिब सय मिटरको परिधिमा हुने गरेको छ ।
    बिरामीमा यी लक्षण देखिए तुरुन्त अस्पताल
    ज्वरो रहँदा देखिने खतराको संकेत 
    • पिसाबको मात्रामा कमी आए
    • बच्चा रुँदा धेरै कम वा आँसु नै नआए
    • मुख, जिब्रो वा ओठ सुक्खा भए
    • आँखा धसिएमा
    • धेरै चिढिएको, अलमलिएको भए
    • प्रतिमिनेट १ सय वा योभन्दा बढी मुटुको चाल भएमा
    बचाउ
    हाल डेंगु ज्वरोका लागि कुनै मान्यता प्राप्त खोप उपलब्ध छैन । यसैले यो संक्रमणको जोखिम भएका ठाउँका बासिन्दा र त्यहाँ यात्रा गर्नेहरूले विशेष सावधानी अपनाउनुपर्छ ।
    डेंगु संक्रमणको जोखिम भएको ठाउँमा सुरक्षात्मक लुगाफाटा उपयोग गर्नुपर्छ । हाफ पाइन्टभन्दा खुट्टा पूरा छोपिन लुगा र पूरा बाहुला भएको लुगाफाटो लगाउनु बढी उपयोगी हुन्छ । दिउँसो र राति लामखुट्टेको टोकाइबाट जोगाउने क्रिम वा स्थानीय रूपमा उपयोग कुनै प्रक्रियालाई अपनाउनुपर्छ ।
    दोस्रोपटक भए झन् खतरनाक
    एकपटक डेंगु भइसकेकाहरूलाई अर्को पटक डेंगुको फरक भाइरसको संक्रमण हुँदा रोग कडा रूपमा देखिन सक्छ । डेंगुको डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी ४ प्रकारका भाइरस हुन्छन् । एकपटक जुन सेरोटाइपको भाइरसको कारण बिरामी भइन्छ । अर्को पटक त्यही भाइरसविरुद्घ लड्न जीवनभर रोग प्रतिरोधक क्षमता तयार हुन्छ । उसो त रोग निको भएपछि अन्य सेरोटाइपका लागि ‘क्रस इम्युनिटी’ मात्र आंशिक र अस्थायी हुन्छ ।
    डेंगुको अन्य सेरोटाइपद्वारा पछि संक्रमण हुँदा सिभियर डेंगु हुने जोखिममा वृद्घि हुन्छ । अर्थात् पहिलो पटकभन्दा फरक प्रकारको भाइरसले डेंगु उत्पन्न गरायो भने समस्या झन् गम्भीर हुन सक्छ ।
    छैन औषधि 
    डेंगु सामान्यतः एक–दुई सातामा आफैं निको भइहाल्छ । यो रोगको उपचार गर्नका लागि कुनै विशिष्ट औषधि छैन । चिकित्सक, स्वास्थ्यकर्मीले ‘पारासिटामोल’ औषधिको माध्यमले ज्वरो र दुखाइ नियन्त्रण लगायतका लाक्षणिक उपचारअन्तर्गत बिरामीमा देखिएको विभिन्न लक्षणको प्रबन्ध गर्छन् । यसमा आन्तरिक रक्तश्रावको जोखिम हुने भएकोले ‘एस्प्रिरिन’, ‘आइबुप्रोफेन’ आदि उपयोग गर्नु हुँदैन ।
    सामान्य डेंगु भएकाहरूलाई निर्जलीकरण रोक्नका लागि बढी मात्रामा पानी लगायतका झोलिलो खानेकुरा, तरल पदार्थ सेवनसँगै आराम गर्ने सल्लाह दिइन्छ ।
    रोग सार्ने लामखुट्टे
    • मुख्य रूपमा दिउँसो मात्र नभई राति पनि टोक्न सक्छ
    • अँध्यारो ठाउँमा बस्न रुचाउँछ
    • टेबुल, सोफामुनि, पर्दा पछाडि, घरका कुनामा बस्छ
    • आद्रता मन पराउँछ
    • यो भित्तामा आराम गर्छ
    • हरेक ४८ घण्टापछि टोक्न आउँछ
    • पोथीले मात्र रगत चुस्छ
    • रगत खान गाईभैंसी आदिलाई समेत टोक्छ
    • प्रजनन् स्थलभन्दा अधिकतम ५ सय मिटरसम्म टाढा जान सक्छ
    • यसको फुल एक वर्षभन्दा बढी समयसम्म जीवित रहन्छ
    • यो एक ठाउँमा फुल नपारी थुप्रै ठाउँमा फुल पार्छ
    • एउटा लामखुट्टेले ७५ जना सम्मलाई डेंगु सार्न सक्छ
    • भाले लामखुट्टे एक साता बाँच्छ
    • पोथी लामखुट्टे एक महिनासम्म बाँच्छ
    डेंगुको लक्षण देखिएको ३ देखि ७ दिनपछि
    ज्वरो घट्दा देखिने खतराको संकेत 
    • बिरामीलाई गम्भीर पेट दुखाइ वा निरन्तर वान्ता
    • छालामा रातो बिमिरा वा प्याच
    • नाक र गिजाबाट रक्तश्राव
    • रगतको वान्ता वा दिसामा रगत
    • तन्द्रा वा चिटचिढाहट
    • पहेंलो, रुखो, चिसो छाला