उदयपुर- आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भइसके पनि अझै बेपत्ता छन्।
बुढाथोकी र निजका आफन्तको खोजीमा प्रहरी र अस्पतालका सबै कर्मचारी लागेको अस्पतालका कर्मचारी बताउँछन्। आइतबार बेलुकी मात्र मृतक खोटाङ जिल्ला दिक्तेल मझुवागढी रुपाकोट नगरपालिका दिक्तेलका -१ का वडा अध्यक्ष टङ्कप्रसाद आचार्यकी छोरी भएको खुलेको छ।
गाईघाट डिएम गेटका कृष्ण राईका अनुसार अनुसार सो दम्पती त्रियुगा नगरपालिका १२ डिएमगेटको एक घरमा डेरा लिएर बस्दै आएको थियो। भागी बिहे गरेको र श्रीमान्ले श्रीमतीलाई कोठामा राखेर श्रीमान् अन्यत्र बस्ने गरेका कारण स्थानीय छिमेकीले समेत दुवैका बारेमा राम्ररी जानकारी नभएको बताउँछन्।
नाम थर ठेगानासमेत लुकाएर दुवै गाईघाट बस्दै आएका थिए। प्रेम बुढाथोकी बताउनेले आफ्नो नाम थर र ठेगाना ढाँट्ने गरेका कारण सबै कुरा खुल्न नसकेको डिएमगेटका बासिन्दाको भनाइ छ। मृतक सुस्मिता भनिने सुष्मा आचार्य भने टङ्प्रसादकी छोरी भएको खुल्न आएको कारण उनका बुबालाई खबर गरेर बोलाइएको जिल्ला अस्पतालका प्रमुख डा मेहताले बताए। रासस