कोरोना भाईरस(Corona Virus) सम्बन्धि स्वास्थ्य शिक्षा सामाग्री तथा जानकारीहरु

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको ईपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा द्वारा तयार पारि सार्वजनिक गरिएको कोरोना भाईरस सम्बन्धि जनचेतनामुलक स्वास्थ्य शिक्षा सामाग्रीहरु :
Algorithm to suspect Novel Corona Virus (nCoV) infection based on the WHO Surveillance Case Definition*



सर्वसाधारणका लागि चेतनामुलक संदेश :

कोरोना भाईरस सम्बन्धि धेरै सोधिने प्रश्न र उत्तरहरु :

कोरोना भाइरस सङ्क्रमण : केही तथ्य, केही सत्य

चीनको वुहान शहरमा केन्द्रबिन्दु रहेको कोरोना भाइरसको कम्प परकम्पले अहिले विश्वको सुदूरपश्चिमका देशमा समेत हलचल मच्चाइसकेको छ । सन् २०१९ डिसेम्बरको अन्त्यतिर देखिएको भाइरसबारे देशका विभिन्न पत्रपत्रिका, टेलिभिजन र अनलाइनहरुमा पर्याप्त सूचना र विश्लेषण भैसकेको सन्दर्भमा यो आलेखले केही भ्रमहरु चिर्ने र केही अनुसन्धानात्मक तथ्यहरु राख्ने प्रयास गर्नेछ ।
कोरोना भाइरस
कोरोना भाइरस नौलो विषाणु होइन, यसका पुर्खाहरु सन् १९६० भन्दा पहिलेका मानिन्छन् । ताज (क्राउन) आकारको आधा जीव आधा निर्जीवको अजीव जीव भएकोले यसको नाम ‘कोरोना’ रहन गएको हो । सन् २००२ मा पनि चीनकै ग्वाङ्दोङ्ग प्रान्तमा सेभर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को महामारी, सन् २००३ मा हङकङमा प्रकोप फैलिएको थियो । फलस्वरूप सन् २००२–२००३ मा २९ देशका सात सय ७४ जनाको ज्यान गएको थियो भने सङ्क्रमितको सङ्ख्या ८० हजार ९ सय ६० थियो ।
सन् २०१२ को जनवरीमा साउदी अरेबियामा मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (एमईआरएस) फैलिएको थियो । झण्डै दुई हजार पाँच सय जनामा यसको सङ्क्रमण देखिएको थियो भने आठ सय ५८ जनाले ज्यान गुमाएका थिए ।
अहिले कोरोना भाइरस चीनको वुहान शहर हुँदै विश्वभरि फैलिरहेको छ । अहिलेसम्म चीनमा चार सय २५ जना, फिलिपिन्समा एक जना र हङकङमा एक जनाको ज्यान गैसकेको छ । यी सबै कोरोना भाइरसका सन्तानहरु हुन्– (2019-nCoV, MERS-CoV/SARS-CoV)
यी भाइरसहरु जनवारबाट जनावरमा सर्ने भए पनि कालखण्डमा यिनीहरुको रुप परिवर्तन भएर जनावरबाट मानवमा सरेका हुन् । यो भाइरस (2019-nCoV) सामुद्रिक खाना अर्थात् ‘सी फुड’ बाट सरेको अनुमान गरिएको छ भने अनुवांशिक प्रोफाइल गरेर हेर्दा सर्पबाट सरेको भन्ने अनुमान गरिएको छ । चमेरोको सुप खाएकाहरुमा पहिलोपल्ट देखिएको भन्ने हल्ला पनि व्यापक छ ।
यो भाइरस किन खतरनाक छ त ? 
कुनै भाइरस शरीरमा प्रवेश गर्दैमा त्यो व्यक्ति सङ्क्रमित हुँदैन । निश्चित सङ्ख्यामा भाइरसको फौज भएमात्र मान्छेलाई भाइरसले गाँज्ने हो । फरक फरक भाइरसको फरक फरक सङ्ख्या सङ्क्रमणको लागि आवश्यक हुने हुन्छ ।
एड्स जस्तो ज्यानमारा रोग लाग्न एक लाखदेखि १० लाख ‘पीएफयू’ चाहिन्छ भने इबोला, लास्सा जस्ता अत्यन्त घातक ज्यानमारा भाइरस केबल एक पीएफयू भए पुग्छ ।
ड्रेक्जल विश्वविद्यालयमा मैले अनुसन्धान गर्ने ल्याबमा मेरा एक सहकर्मीले गरेको अनुसन्धान अनुसार SARS-CoV, ४३ पीएफयूले १०% र २८० पीएफयूले ५०% स्वस्थ मानिसमा सङ्क्रमण हुने देखिन्छ । हङकङमा भएको प्रकोपमा औसतमा ११० पीएफयू भाइरसले सङ्क्रमण देखाएको छ ।
यहाँ ‘पीएफयू’ भन्नाले ग्लेग फमिङ्ग युनिट अर्थात् भाइरसको सङ्ख्या गणना गर्ने इकाइकोरुपमा बुझ्नुपर्छ । थोरै सङ्ख्याले पनि काम तमाम गर्ने भएकोले यो अत्यन्तै सरुवा र जोखिमपूर्ण मानिएको हो ।
स्मरण रहोस् एक थोपा खकार वा र्‍यालमा हजारौँदेखि लाखौँसम्म भाइरस हुन सक्छ । यो यति छिटो र सजिलैसित सर्न सक्छ भन्ने कुरा यसको सर्ने दरबाट थाहा हुन्छ । एक सङ्क्रमित बिरामीले १ दशमलव ४ देखि ३ दशमलव ८ व्यक्तिलाई सार्न सक्दछ भने चीनमा अहिलेको सङ्क्रमण दर एक व्यक्तिबाट ५ दशमलव ५ व्यक्तिमा सरेको तथ्याङ्कले देखाएको छ ।
सङ्क्रमण र रोगका लक्षणहरु
अन्य मौसमी भाइरल ज्वरो जस्तै कोरोनाको पनि सुरुको लक्षण देखापर्ने हुन्छ । जिउ दुख्ने, ज्वरो आउने, रुघाखोकी र घाँटीमा समस्या हुँदै श्वासप्रश्वासमा समस्या आउने हुन्छ ।
भाइरस शरीरमा प्रवेश गरेको तीनदेखि १४ दिनसम्ममा रोगका लक्षण देखा पर्दछन् । औसतमा ६ दिनमा रोग देखिन थाल्दछ । सामान्यतया स्वस्थ र वयस्क व्यक्तिलाई रोगले गाँजे पनि उपचारपछि ठीक हुने हुन्छ । बालबालिका, वृद्धवृद्धा र अन्य रोगसँग लड्ने शरीरको क्षमता कमजोर भएकाहरुको भने ज्यान जाने सम्भावना रहन्छ ।
चीनमा अहिलेसम्म ज्यान गुमाएकाहरुमध्ये धेरैजसो ५० वर्ष कटेकाहरू हुन् । स्मरण रहोस् ज्वरो आउनु भनेको शरीरमा बाह्य तत्वले आक्रमण गरेको जनाउ घण्टी हो ।
कोरोनाबाट बच्ने उपाय
मूलतः रोग भित्रिन नदिनु नै कुनै पनि रोगबाट बच्ने उत्तम उपाय हो । हवाई नाका अझ हवाई जहाज चढ्ने दिनअघि नै थर्मल स्क्यान गरेर सम्भावित व्यक्तिको पहिचान गरेर छुट्याउनु पर्दछ । देशमै छिटपुट घटना देखिए बिरामीलाई एक्ल्याएर आवश्यक उपचार गर्ने त छँदैछ, केही सतर्कता अपनाए जोखिम कम हुन्छ ।
जस्तै–
–   साबुनपानी वा स्यानिटेजर प्रयोग गरी हात धुने
–   मेडिकल मास्कको प्रयोग
–   भिडभाडबाट बच्ने
–   शङ्कास्पद बिमारीबाट टाढै बस्ने
–   शङ्कास्पद लक्षण देखा परे अविलम्ब अस्पताल लैजाने
सर्ने माध्यम र तरिका
मूलतः नाक, आँखा र मुख शरीरमा प्रवेश गर्ने द्वारहरु हुन् । आँखा र मुखबाट त्यसको सम्भावना न्यून हुन्छ । सङ्क्रमित व्यक्तिको हाच्छ्युँ र खोकाइबाट निस्कने तरल पदार्थको कण (एरोसोल) मा लाखौँ भाइरस नाँच्दै बाहिर निस्कन्छन् । ती हलुका हुने भएकोले केही समयसम्म हावामा तैरिन्छन् र स्वस्थ व्यक्तिले श्वास तान्दा भाइरसलाई निम्ता दिने सम्भावना रहन्छ । त्यसैले तीनदेखि ६ फिट टाढै रहनुपछ्र्र ।
केही समयपछि ती सतहमा थिग्रिन्छन् । स्वस्थ मानिसले भाइरस भएको सतहमा हातले छुँदा औँलामा टाँसिएर आउने सम्भावना हुन्छ र जानीनजानी नाक छुने वा कोट्याउने गर्दा भाइरस नाक हुँदै छिर्छन् । एक अध्ययनअनुसार स्वस्थ मानिसले दिनमा औसतमा १८ पल्ट नाक छुने वा कोट्याउने गर्दछ ।
आशाका किरण 
प्राध्यापक डाक्टर चार्लस एन हास (Drexel University, अमेरिका) का अनुसार शरीरबाट निस्केको २४ घण्टामा १० करोड सङ्ख्यामा रहेको भाइरस घटेर सयमा सीमित हुने हुन्छ । मतलब यी बाँकी भाइरस वातावरणमा स्वतः मरेर वा नष्ट भएर जान्छन् । तसर्थ बिरामीले प्रयोग गरेको लुगा, बिछ्यौना वा अन्य सरसामानमा २४ घण्टापछि न्यून सङ्ख्यामा मात्र बाँकी रहने हुन्छ । यसको अर्थ सङ्क्रमणको सम्भावना चाहिँ कम हुन्छ तर शून्य चाहिँ हुँदैन ।
रोग लाग्दैमा ज्यान जाने होइन । हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले रोगसँग प्रतिरक्षा गर्ने प्रयास गर्छ नै । सङ्क्रमित भए पर्याप्त आराम गर्ने, पर्याप्त तरल पदार्थ खाने,  घाँटी दुखाइ कम हुने र श्वासप्रश्वास सहज गर्ने औषधि खाने र कोठा, चोटामा आद्रता पर्याप्त कायम राख्दा फाइदा हुन्छ । १९ वर्षभन्दा मुनिका लागि भने जिउ दुखेको सन्दर्भमा आस्पिरिन नदिने, इबुप्रोफिन वा सिटामोल मात्र दिने गर्नुपर्छ । महत्वपूर्ण कुरा चाहिँ आत्मबल उच्च राख्न मद्दत गर्नु गराउनु पर्छ ।
सरकार र सम्बन्धित निकायले गर्नुपर्ने काम
सबैभन्दा पहिलो कुरा र चीनसँगको नाकामा उच्च निगरानी र सतर्कता अपनाउनु पर्छ । विशेष गरेर हवाई नाकामा सङ्क्रमित क्षेत्रबाट आएका यात्रुको स्वास्थ्य परीक्षण गर्ने र सम्भावित बिरामीलाई अत्यन्त सुरक्षित आइसोलेशन वार्डमा राखेर उपचार र निगरानी गर्नुपर्दछ । जनचेतनाको लागि व्यापक प्रचारप्रसार गरी सत्य, तथ्य नागरिकलाई जानकारी गराइ सुसुचित गराउनु पर्दछ ।
केही भ्रम र यथार्थहरु
१. लसुन खाएमा कोरोनाको सङ्क्रमण सर्दैन भन्ने कुरा केवल हल्ला र भ्रम मात्र हो । लसुन स्वास्थ्यको लागि अत्यन्त आवश्यक र फाइदाजनक हो नै तर यसले     कोरोनाको सङ्क्रमणबाट जोगाउने होइन । लसुनले कोरोनाको सङ्क्रमण हुन नदिने भए अहिले लसुनको भाउ सुनभन्दा महँगो हुन्थ्यो ।
२. अहिलेसम्म यसैको लागि मात्र भनेर कुनै औषधी र भ्याक्सिन उपलब्ध छैन ।
३. नेपालमा आउन सक्दैन, आएर पनि गैसक्यो भन्नु गैरजिम्मेवार भनाइ हो ।
४. मानवनिर्मित भाइरस भन्ने कुरा हल्ला बढी र यथार्थ कम हो । भाइरसहरु mutation गराइ अध्ययन, अनुसन्धान हुन्छ । तर भाइरसले प्राकृतिकरुपमा रुप परिवर्तन गरिरहन्छ । तसर्थ यो विषयमा यकिन गर्न व्यापक अध्ययन गर्न जरुरी हुन्छ ।
अन्त्यमा सम्बधित निकायले उच्च प्राथमिकता र गम्भीररुपमा यो भाइरसको सङ्क्रमण हुन नदिने र भैहाले चाल्ने कदमको पूर्ण तयारी गरिहाल्नु पर्ने देखिएको छ । चीनमा फसेका नेपाली नागरिकको सुरक्षामा उचित कदम यथाशीघ्र चालियोस् ।
सन्दर्भ सामाग्रीहरु :
१. Ujyaaloonline
२. Wikipedia
३. ईपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
 
कोरोना भाईरस सम्बन्धि बिशेष प्रस्तुतिकरण: