कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन ढिला भए के हुन्छ ?
‘वैज्ञानिक अनुसन्धान अनुसार ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउन भनेको छ

देशभर करीब १३ लाख नागरिक कोरोनाविरुद्धको दोस्रो खोप लगाउने पर्खाइमा छन् ।

खरीद सम्झौता अनुसारको १० लाख डोज खोप भारतले समयमै उपलब्ध नगराइदिँदा दोस्रो डोज खोप कार्यक्रम प्रभावित भएको सरकारी अधिकारीहरू बताउँछन् ।

भारतले समयमै खोप उपलब्ध नगराउँदा र सरकारले वैकल्पिक व्यवस्था गर्न नसक्दा खोपको दोस्रो मात्रा लगाउने समय घर्किंदैछ । खोपको पहिलो डोज लगाएका नागरिकमा एकखालको मानसिक चिन्ता बढेको छ ।

खोपको दोस्रो मात्रा लगाउने सुनिश्चित हुन नसक्दा उनीहरूलाई चिन्ता थपिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो खोप लगाउने पर्खाइमा १३ लाखभन्दा बढी नागरिक छन् ।

खोपको दोस्रो मात्रा लगाउने समय घर्किए पनि आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको स्वास्थ्य अधिकारी एवं विज्ञहरूको भनाइ छ । तर खोप लगाउन घर्किएको समयावधिभित्र जनस्वास्थ्यका मापदण्ड भने अनिवार्य पालना गर्न उनीहरूले सुझाएका छन् ।

विश्व स्वास्थ्य संगठन -डब्ल्यूएचओ) ले ८ देखि १२ हप्ताभित्र खोपको दोस्रो मात्रा लगाउन भने पनि केही समय ढिला हुँदैमा डराइहाल्नुपर्ने अवस्था नरहेको सरकारद्वारा गठित खोप विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेती बताउँछन् ।

१२ हप्तापछि खोपले दिने प्रतिरोधी क्षमता घट्दै जाँदा संक्रमण हुने सम्भावना रहेकोले सजगता भने अपनाउनुपर्ने उनको सुझाव छ ।

‘खोपका कारण शरीरमा विकास भएको एन्टिबडी लेभल १२ हप्तापछि घट्दै जान सक्छ । त्यसो हुँदा रोगसँग लड्ने क्षमता पनि घट्न सक्छ । त्यो बेला संक्रमणको जोखिम हुनसक्छ’, उनले भने । ढिलै भए पनि दोस्रो मात्रा दिएपछि रोगसँग लड्ने क्षमताको विकास पूर्ववत् रूपमै आउने र लामो समयसम्म रहने उनको दाबी छ ।

‘खोप दिन घर्किएको बीचको समयमा मात्रै एन्टिबडी घटेर जाने हो । दोस्रो डोज लगाउने बित्तिकै शरीरमा एन्टिबडी लेभलले निरन्तरता पाउँछ’ उनले भने, ‘खोपको पहिलो मात्राले शरीरमा मेमोरी खडा गर्छ, त्यसलाई हामी ‘प्राइमिङ’ भन्छौं । १२ हप्ता, १६ हप्ता अथवा १८ हप्तापछि जहिले दिए पनि हुन्छ । त्यसैले पहिलो डोज दोहोर्‍याउनु पर्दैन ।’

बेलायतमा पनि खोपको दोस्रो डोज लगाउन ढिलाइ भएको उनी स्मरण गराउँछन् । धेरै मानिसलाई सुरक्षित बनाउने नीति अनुसार बेलायतले शुरूमा पहिलो डोज खोपलाई प्राथमिकता दिंदा दोस्रो डोज लगाउन ढिलाइ भएको उनको भनाइ छ ।

जनस्वास्थ्यविद् डा. शरद वन्त पनि समय घर्किएर खोपको दोस्रो मात्रा लगाउँदा खासै समस्या नहुने बताउँछन् । ‘समयमै दोस्रो डोज नलगाउँदा खोपबाट जति लाभ पाउनुपर्ने हो त्यो पाउन नसकिएला । कुरा त्यति मात्रै हो’ उनले भने, ‘दोस्रो डोजले बुस्टरको काम गर्ने हो । त्यसैले पहिलो र दोस्रो डोजबीचको ग्याप १२ हप्ता राखिएको हो ।’
दोस्रो मात्रा दिन ढिलाइ हुँदा हुनसक्ने प्रभावबारे अनुसन्धान हुन जरूरी रहेको उनले बताए ।सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्- समयमै कोरोनाविरुद्ध खोपको दोस्रो डोज नलगाउँदा शरीरमा नकारात्मक असर गर्छ कि भन्ने चिन्ता नागरिकमा छ । यसले शरीरमा कुनै हानि गर्दैन

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले खोपको दोस्रो डोजको पर्खाइमा रहेका नागरिकलाई विचलित भइहाल्नुपर्ने अवस्था नरहेको बताए ।

यो खोपको पहिलो मात्राको असर कुन समयमा पुगेर खस्किन्छ भन्ने स्पष्ट भइनसकेको अवस्थामा ८ देखि १२ हप्तामा दोस्रो डोज दिंदा प्रभावकारी हुने उनको भनाइ छ ।

‘वैज्ञानिक अनुसन्धान अनुसार ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउन भनेको छ । तर केही मुलुकले १६ हप्तापछि दोस्रो डोज लगाउने प्लानिङ गरिरहेको समाचारहरू पनि आइरहेका छन्’, उनले भने ।

कति हप्तापछि यसको प्रभावकारिता खस्किन्छ भनेर वैज्ञानिकहरूले पनि यकिनका साथ भन्न नसकेको उनले बताए ।

‘कति दिनपछि यसको प्रभावकारिता खस्किन्छ भनेर वैज्ञानिकहरू समेत स्पष्ट छैनन्’ उनले भने, ‘त्यसैले यो अनुसन्धानकै विषय हो । पहिलो डोजको प्रभावकारिता खस्किन नपाउँदै दोस्रो डोज लगाएर बुस्टअप गर्न सक्यौं भने अझ लामो समयसम्म यसले रक्षा गर्छ भन्ने हो ।’

खोपको पहिलो मात्राले दिने प्रभावकारिता कुनै कुनै विन्दुमा गएर त अवश्य खस्किने अनुमान गर्दै उनले भने, ‘धेरै खस्किएपछि अर्को डोज दिंदा प्रतिरोधी क्षमतामाथि आउँछ कि आउँदैन भन्ने पनि स्पष्ट छैन । यी सबै वैज्ञानिक अनुसन्धानकै क्रममा छन् ।’

दोस्रो डोज समयमै लगाउन नपाउँदा शरीरमा नकारात्मक असर नगर्ने डा. पुनको भनाइ छ । ‘समयमै दोस्रो डोज नलगाउँदा शरीरमा नकारात्मक असर गर्छ कि भन्ने चिन्ता नागरिकमा परेको छ’ उनले भने, ‘यसले शरीरमा कुनै हानि गर्दैन । पहिलो डोजको प्रभावकारितालाई जति बुस्टअप गरेर लम्ब्याउनुपर्ने हो त्यो खस्कन सक्छ ।’

कोरोना विरुद्धको खोप दुई डोजको अन्तरबाट भारतको फोर्टिस अस्पतालका डाक्टर केएस सतिशले यसबारे मानिसहरूमा देखिएको चिन्तालाई चिर्ने प्रयास गरेका छन् । उनका अनुसार खोपले मानिसलाई कोरोना लाग्नबाट बचाउँछ । यद्यपि त्यसका लागि खोपको पूरा डोज लिनु जरूरी हुन्छ ।

‘कोरोना खोपको विषयमा गरिएको विभिन्न अध्ययनमा एक डोजले मात्र हाम्रो शरीरमा पर्याप्त एन्टिबडी विकास गर्दैन भन्ने देखाइसकेको छ । दोस्रो डोज लिएपछि मात्र पर्याप्त एन्टिबडीको विकास हुन्छ’, उनले भने ।

प्रत्येक खोपको लागि दुई डोज लिने समयको अवधि फरक हुन्छ । भारतको सेरम इन्स्िटच्युटले बनाएको कोभिशिल्ड खोपको दोस्रो डोज लिन पहिलो खोप लगाएको ६ देखि ८ साता उचित समय हो । यो समयसीमा बढाएर १२ सातासम्म पनि पुर्‍याउन सकिन्छ । सबैभन्दा राम्रो त सिफारिश गरिएकै समयमा दोस्रो डोज खोप लगाउनुमा हुन्छ । यसले हाम्रो शरीरमा कोरोनाविरुद्ध राम्रो एन्टिबडीको विकास गर्छ ।

‘यदि दोस्रो डोज खोप लगाउने समयको अन्तर सिफारिश गरिएको भन्दा एक वा दुई साताभन्दा पनि धेरै हुन्छ भने शरीरमा विकास हुने एन्टिबडी पनि अपेक्षा गरिएअनुसार बलियो हुन सक्दैन’, उनले भने ।

यद्यपि यो अवस्थामा पुनः अर्को खोप लिनुपर्ने आवश्यकता भने हुँदैन । पहिलो खोपले हाम्रो शरीरमा यसअघि नै प्रभाव पार्न थालिसकेको हुनाले सकेसम्म छिटो खोप पाउनका लागि प्रयास गर्नु नै एकमात्र विकल्प रहेको उनले सुझाए ।

विकल्प ?

सरकारले भारतीय उत्पादकसँग २० लाख डोज कोभिशिल्ड खोप खरीद गरेको भए पनि १० लाख डोज मात्रै उपलब्ध भएको डा. उप्रेतीले बताए ।

‘बाँकी १० लाख डोज खोप आउन बाँकी नै छ । पहिलो डोज पठाएको दुई साताभित्र बाँकी खोप पठाउने प्रतिबद्धता भारतले गरेको थियो । तर भारतमा महामारीको दोस्रो लहरले व्यापक असर गरेपछि खोप निर्यातमा रोक लगायो’, उनले भने ।

भारतबाट आउन बाँकी खोप ल्याउने प्रयास सरकारले गरिरहेको उनले बताए । कोभिशिल्ड लिएकाहरूलाई दोस्रो डोज लगाउन मिल्ने खोप उत्पादन गर्ने मुलुकसँग सरकारले समन्वय गरिरहेको उनको भनाइ छ ।

समयमै थप कोभिशिल्ड खोप ल्याउन नसकेपछि सरकारले जेठ १० गते मात्रै दोस्रो डोज लगाउने समयावधि १२ हप्ताबाट बढाएर १६ हप्ता पुर्‍याएको छ । ‘भारतले पठाएको नयाँ नियमअनुसार दोस्रो डोज लगाउने समय १२ देखि १६ हप्तासम्म रहेछ । त्यसैअनुसार नेपालले पनि तयारी गरिरहेको छ,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेष डा रोशन पोखरेलले भने /

दोस्रो डोजको सुनिश्चितता गरेर मात्रै चिनियाँ खोपको पहिलो डोज लगाएका कारण चिनियाँ खोप अभियानमा कुनै समस्या नरहेको डा. उप्रेतीले बताए ।

जेठ २५ गतेदेखि सञ्चालन हुने खोप अभियानमा पनि दोस्रो डोजको सुनिश्चितता गरेर अभियान सञ्चालन गर्न लागेको उनले बताए ।

पछिल्लो समय चीनले १० लाख डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराएसँगै सरकारले ६०-६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप दिन लागेको हो । मन्त्रालयका अनुसार सो उमेर समूहका नागरिक ८ लाख ५४ हजार छन् ।

मन्त्रालयको तथ्यांक अनुसार ४ लाख ३५ हजार ११२ जनाले कोभिशिल्ड र २ लाख ७९ हजार जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाइसकेका छन् । कोभिशिल्ड खोप लगाएका १३ लाखभन्दा बढी नागरिक दोस्रो डोजको पर्खाइमा छन् ।

नेपालमा अहिलेसम्म कोभिशिल्ड, कोभ्याक्सिन, भेरोसेल र स्पुत्निक-भी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति पाएको भए पनि कोभिशिल्ड र भेरोसेल खोप मात्र प्रयोगमा छ ।

अमेरिकाबाट खोप पाउने अपेक्षा

अमेरिकाले जून महीनाको अन्तिमसम्म ८ करोड डोज खोप वितरण गर्ने घोषणा गरेको छ।

जसमध्ये पहिलो चरणमा करीब २ करोड ५० लाख डोज खोप वितरण हुनेछ । यो खोपमध्ये करीब एक करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम मार्फत एशिया, अफ्रिकालगायत कम आय भएका मुलुकमा जानेछ।

कोभ्याक्स कार्यक्रमलाई दिइने खोपमध्ये दक्षिण एशिया तथा दक्षिण पूर्वी एशियाका मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने अमेरिकाले बताएको छ । सोहीमध्ये केही मात्रा खोप नेपालले पाउने अपेक्षा गरिएको छ।

त्यसैगरी बाँकी ६० लाख डोज खोप भारत, मेक्सिको लगायत कोरोना संकट सामना गरिरहेका र मित्र राष्ट्रहरूले पाउने छन् । श्रोत : अनलाइनखबर